लागत वृद्धि र बजार अभावले झापाको माछापालन व्यवसाय सङ्कटमा

काठमाडौँ, साउन ११ । पूर्वी नेपालको प्रमुख माछा उत्पादन केन्द्रको रूपमा रहेको झापामा व्यावसायिक माछापालन व्यवसाय चुनौतीपूर्ण बन्दै गएको छ । उत्पादन लागतमा भएको अत्यधिक वृद्धि र बजार व्यवस्थापनको अभावका कारण यो क्षेत्र सङ्कटतर्फ उन्मुख भएको हो । उत्पादन बढाउनुभन्दा पनि व्यवसाय जोगाउनै कठिन भएको उल्लेख गर्दै किसानहरूले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् ।

विशेष गरी विद्युत् महसुलमा भएको वृद्धि, माछाको दाना, औषधि तथा श्रम लागत महँगिनु नै व्यवसाय सङ्कटमा पर्नुको मुख्य कारण रहेको किसानहरूको बुझाइ छ । यसका साथै, भारतबाट हुने अवैध र सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धाले स्वदेशी उत्पादनलाई थप दबाबमा पारेको छ ।

नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि व्यवसाय भए तापनि व्यावहारिक रूपमा किसानहरूले उद्योगसरहको विद्युत् महसुल र अन्य लागतको भार व्यहोर्नु परिरहेको छ । “दाना र अन्य सामग्रीको मूल्य आकाशिएको छ तर उत्पादनको मूल्य सोही अनुपातमा बढ्न सकेको छैन,” शिवाकोटीले भन्नुभयो, “यसले गर्दा किसानको लगानी नै जोखिममा परेको छ ।”

सङ्घको तथ्याङ्क अनुसार झापामा हाल करिब २०० जना व्यावसायिक किसान माछापालनमा संलग्न छन् भने यहाँ वार्षिक एक हजार ५०० टन माछा उत्पादन हुने गरेको छ । तर, बढ्दो लागतका कारण नयाँ लगानीकर्ताहरू यस क्षेत्रमा आकर्षित हुन सकेका छैनन् भने पुराना किसानहरूले समेत व्यवसाय विस्तारको योजना स्थगित गर्न थालेका छन् ।

व्यावसायिक किसान हरिप्रसाद मैनालीले दाना, औषधि र विद्युतीय उपकरणको मूल्य निरन्तर बढ्दा उत्पादन लागत नियन्त्रणबाहिर गएको बताउनुभयो । उहाँका अनुसार बजारमा माग हुँदाहुँदै पनि महँगो लागतका कारण अपेक्षित उत्पादन लिन सकिएको छैन । राज्यले प्राविधिक सहयोग र सहुलियतपूर्ण नीति अवलम्बन नगरे यो व्यवसाय थप धराशयी हुने उहाँको चेतावनी छ ।

अर्का किसान राजु सापकोटाले गुणस्तरीय दाना र आधुनिक प्रविधिको अभावलाई मुख्य समस्याका रूपमा औँल्याउनुभयो । उहाँले राज्यले प्रविधिमैत्री माछापालन र प्राविधिक तालिमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

झापामा उत्पादित माछाले पूर्वी नेपालको ठूलो बजार धान्न सक्ने सम्भावना रहे तापनि चिस्यान केन्द्रको अभाव, बजार व्यवस्थापनमा कमजोरी, मूल्यमा अस्थिरता र अनियन्त्रित आयातका कारण स्वदेशी किसानले उचित प्रतिफल पाउन सकेका छैनन् । किसानहरूले आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।