सरकार गठनको खेल निरन्तर दोहोरिने भयो, सांसदको भाउ बढ्ने भयोः ओली

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित प्रमाणपत्र लिनुभएको छ । आज काठमाडौँबाट झापा पुगेर उहाँले निर्वाचित प्रमाणपत्र लिनुभएको हो । झापा क्षेत्र नम्बर ५ बाट अत्याधिक मतान्तरले विजयी हुनुभएका ओली विजय जुलुससहित आज निर्वाचित प्रमणपत्र लिनु भएको हो । उहाँले संक्षिप्त सम्वोधन गर्दै संसदको सम्भावित संरचनाले सरकार बनाउने र भत्काउने खेल निरन्तर दोहोरिने बताउनु भयो ।

‘मिलिजुली सरकार बनाउनेतिर देश गयो,’ उहाँले भन्नुभयो, ‘अब हरेक सांसदको भाउ बढ्यो । राजनीति १–२ महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो ।’ उहाँले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने पनि बताउनुभयो । ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताउनुभयो । उहाँसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिनुभएको ।