प्रचण्डसँग बधाई साटासाट बाहेक थप केही कुराकानी भएको छैनः ओलीको सचिवालय

काठमाडौँ, ८ मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन सम्वादमार्फत बधाई दिनुभएको थियो । अहिले त्यहि विषयलाई लिएर विभिन्न कोणबाट समाचार आइरहेका छन् । केही सञ्चार माध्ययमले त ओलीले प्रचण्डलाई टेलिफोन गरेर मिलेर अघि बढ्न आग्रह गरेको सम्मका समाचार प्रकाशन गरेका छन् ।

तर, समाचारमा आए जस्तो ओलीले प्रचण्डलाई टेलिफोन गरेर मिलेर अघि बढ्न आग्रह नगरेको स्रोतले जानकारी दिएको छ । एमालेको उच्च स्रोतले पनि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्गेनिङको अस्त्रका रुपमा यो हल्ला फैलाएको आशंका गरेको छ । बार्गेनिङको अस्त्रकै लागि माओवादीले दुई नेताबिचको बधाई साटासाटको सम्वादलाई अन्यन्त्र मोड्ट खोजेको हुन सक्ने समेत आशंका एमालेले गरेको छ ।

‘दुई अध्यक्षबिच टेलिफोनमा कुराकानी भएको हो,’ अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले मैत्रीन्युजसँग भन्नुभयो, ‘टेलिफोन सम्वादमा बधाई साटासाट बाहेक अन्य कुनै सम्वाद भएको होइन ।’ बज्राचार्यले अहिले निर्वाचनको अन्तिम परिणाम आइनसकेको अवस्थामा थप कुराकानी गर्नुपर्ने कुनै आवश्यक नभएको र अध्यक्ष ओलीले पनि प्रचण्डसँग अन्य थप कुराकानी नगरेको जानकारी दिनुभयो । परिणामपछि दुई नेताबिच सम्वाद हुने कुरालाई अन्यथा लिन नसकिने भन्दै बज्राचार्यले अहिले भने थप कुनै सम्वाद नभएको पनि जानकारी गराउनुभयो ।