प्रविधिकाे विकाश: धान झार्ने थ्रेसरले किसानलाई सजिलो

सिन्धुली १५ मंसिर । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थ्रेसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने र खेतका गरामा नै खलो बनाएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटाे भएकाेले यो मेशिन लोकप्रिय बन्दै गएको छ ।
पाँच वर्षअघिसम्म धान झार्ने मेशिन हुन्छभन्दा नपत्याउने किसान अहिले आफैँ प्रयोगकर्ता भएका व्यवसायी विनोद दाहालले बताउनुभयो । खेतीको काममा पनि काम गर्ने जनशक्ति कम हुदै गएका बेला यो मेशिनको प्रयोगले किसानलाई सजिलो र छिटोसमेत हुन पुगेको उनीहरुको अनुभव छ ।
दुधौली नगरपालिकामा मात्रै अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बरले थ्रेसर मेशिनको प्रयोगकर्ता बढेका छन्, उहाँले भन्नुभयो, “थ्रेसर किनेको पहिलो वर्ष ५० जना कृषकको धान झारेको थियो, यो वर्ष एक सय जना कृषकको धान झारिसकेको छु ।”
जग्गा धेरै भएका, काम गर्ने जनशक्ति कम भएका कृषकले बढी थ्रेसर मेशिनको माग गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्काउन सकिन्छ । पराल दाइँ गर्नुपर्ने, धान केलाइरहनुपर्ने झन्झट हुँदैन । धानबाली थन्काउन छिटो र सजिलो हुन्छ । धान झार्न मात्र होइन, जोत्न, रोप्न पनि मेशिनको प्रयोग गर्दा काइदा हुने उहाँको बुझाइ छ ।
तीन लाख ५० हजारमा किनेको थ्रेसर मेशिनले धानबालीको सिजनमा घण्टाको तीन हजार कमाउँछ, उहाँले भन्नुभयो, “उधारोमा काम गर्दिन, नगद मिलेन भने धानै लिन्छु ।”
आधुनिक प्रविधिको विकाससँगै विकसित भएको कृषि प्रविधिको प्रयोगले खेती गर्नदेखि बाली थन्क्याउनसमेत सहज भएको दुधौली नगरपालिका–३ खुट्टेपानीका किसान लालबहादुर बोगटीले बताउनुभयो ।
अहिले गाउँमा काम गर्ने खेताला पाउनै मुश्किल पर्छ । पाइहाले पनि ज्याला महँगो भन्छन् । मजदुरी लगाउँदा समय पनि धेरै लाग्छ”, उहाँले भन्नुभयो, “थ्रेसर लगाउँदा बिनाझन्झट धान ढिकुटीमा भित्र्याउन पाइयो ।”
थ्रेसरले धान झार्न सजिलो भए पनि किसानले अलि महँगो शुल्क तिर्नु परेको उहाँको गुनासो छ । व्यक्तिपिच्छे फरकफरक मूल्य (तीन हजारदेखि चार हजारसम्म) तिर्नुपरेको उहाँले सुनाउनुभयो ।
दुधौलीमा जसरी जिल्लाको कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका र मरिण गाउँपालिकाका किसानले पनि कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । बाटो भएका फाँटमा ट्र्याक्टरले जोत्ने र ठूलो थ्रेसर मेशिनले धान झार्ने गर्दछन् ।
कृषि प्रविधिको विस्तार भएकाले सुगम क्षेत्रमा परम्परागत खेती विस्तारै लोप हुने अवस्थामा छ । ट्र्याक्टर, थ्रेसरजस्ता कृषि प्रविधिले जोत्ने गोरु पहिला जसरी पाइन छाडेको किसान गौरव कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषि प्रविधिको प्रयोगले काम छिटो, खर्च कम, समयको बचत हुन्छ । खेताला खोज्नुपर्ने झन्झट हुँदैन । यसै कारण सुगम क्षेत्रमा गोरु, हलो लोप हुँदै गएको छ ।” बाटो नभएका ग्रामीण भेगमा पनि हाते ट्र्याक्टर, तथा हाते थ्रेसरलगायतका कृषि प्रविधिको विस्तार हुँदै गएको छ । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषकलाई अनुदानमा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।