स्पेसएक्सको स्टारसिपको १५औँ परीक्षण उडान सफल, टावरमै सुरक्षित अवतरण
एजेन्सी, २९ कात्तिक । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफल भएको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीबाट सुरक्षित रूपमा अवतरण गर्न सफल भएको हो ।
टेक्सासस्थित स्टारबेस केन्द्रबाट शुक्रबार प्रक्षेपण गरिएको यान शनिबार स्थानीय समयअनुसार दिउँसो ३ः२० बजे पृथ्वीमा फर्किएको थियो । करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएको स्टारसिपले यस क्रममा २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क भी३ भूउपग्रह पनि प्रक्षेपण गरेको थियो ।
परीक्षणमा स्टारसिप सुरक्षित फर्किए पनि सुपर हेभी बुस्टर भने प्रक्षेपणस्थलमा अवतरण हुन सकेन । उक्त बुस्टर मेक्सिकोको खाडीमा खसेको थियो ।
स्टारसिप र सुपर हेभी बुस्टर पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास गरिएको अन्तरिक्ष प्रणाली हो । स्पेसएक्सले यसमार्फत चन्द्रमा, मंगल ग्रहलगायत अन्तरिक्ष गन्तव्यमा यात्रु तथा सामग्री पुर्याउने लक्ष्य राखेको छ ।
