आज कीर्तिपुरमा इन्द्रायणीको भव्य जात्रा

कीर्तिपुर, १७ मंसिर । यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन् । काठमाडौंको दक्षिण भेगमा गाउँहरू त धेरै छन्, त्यसमध्ये सात वटा गाउँहरू यतिबेला उधुम जात्रामा डुबेका छन् । ती गाउँहरू हुन् कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ ।
यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात ‘न्हयगां जात्रा’ पनि भनिन्छ ।
यी सात गाउँका जात्राहरू मध्ये आज चाहिँ कीर्तिपुरमा जात्रा चलिरहेको छ । सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो । हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन् । कतै बिष्णुदेवी, कतै महालक्ष्मी । कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ ।
काठमाडौं उपत्यकाका यी सातै गाउँ रहेको क्षेत्र कुनै बेला काठमाडौंको नगर सभ्यता रहिसकेका स्थान हुन् । यो क्षेत्रमा नेपालका धेरै लिच्छविकालीन अभिलेखहरू प्राप्त भएका छन् । नेपालको प्राचीन इतिहास निर्माणमा यी गाउँहरूको ठूलो योगदान रहेको पाइन्छ ।
यस मध्ये पनि कीर्तिपुर प्राचीनकालदेखि नै केन्द्रमा रहँदै आएको पाइन्छ । मध्यकालमा एक समय तत्कालीन पाटन राज्यको राजधानी समेत कीर्तिपुरमा रहन पुगेको थियो । त्यतिबेला निर्माण भएको दरवारको अवशेष कीर्तिपुरमा अझै पाइन्छ ।
कीर्तिपुरमा बाघभैरवको मन्दिर अत्यन्त प्रशिद्ध छ । इन्द्रायणी देवीको द्यःछेँ पनि यही बाघभैरव मन्दिर परिसरमा रहेको छ । आजका दिन सोही मन्दिर परिसरबाट जात्रा शुरु हुन्छ । यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ । धुमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुगेका हुन्छन् ।
कीर्तिपुरमा इन्द्रायणी देवीको जात्रा चलाउनुको पछाडि एउटा लोककथा पनि प्रचलित छ ।
कीर्तिपुर पहिलेदेखि नै नगरका रुपमा विकसित क्षेत्र हो । एक ताका यो नगरमा एउटा राक्षसले धेरै दुःख दिन थालेको रहेछ । सधैँ नगरमा छिरेर मान्छे मारेर खाने उसको बानी नै भइसकेछ ।
राक्षसको यो अत्याचारबाट मुक्त हुन नगरवासीले एक दिन त्यहाँका राजालाई गुहारे । राजाले नगर भेला बोलाई छलफल चलाए । भेलाले निर्णय ग¥यो, हरेक दिन नगरका एक घरबाट एक जना सदस्य राक्षसको आहारा बन्न जाने । राक्षसले पनि नगरमा प्रवेश गरी मान्छे खान नपाइने ।
राक्षससँग यस्तो सम्झौता भएपछि नगरका हरेक घरबाट हरेक दिन एक एक जना सदस्य कीर्तिपुरको द्यःध्वाखा क्षेत्रमा गएर बस्न जाने चलन भयो । यसलाई ‘लाखेपाः च्वनेगु’ भनिन्छ । त्यसरी लाखेपाः बस्न आएका मान्छेलाई राक्षसले मारेर खाने गर्दथ्यो ।
एक दिन त्यसरी लाखेपाः बस्न जाने पालो एउटा यस्तो घरको आयो जहाँ एउटी बूढी बज्यै र उनका नाति मात्रै थिए । बूढी बज्यैले आफू लाखेपाः बस्न जाने निर्णय त गरिन् तर आफ्नो शेषपछि सानो नातिको के हालत होला भनेर उनलाई साह्रै चिन्ता हुन थाल्यो । उनी नातिको चिन्ताले रुँदै लाखेपाः बस्न गइन् । लाखेपाः बस्ने ठाउँमा पुगेपछि पनि उनले श्री इन्द्रायणी देवीको प्रार्थना गर्दै नातिको रक्षा होस् भनेर कामना गर्न थालिन् ।
नभन्दै त्यहाँ स्वयम् इन्द्रायणी देवी प्रकट हुनुभयो । त्यसपछि इन्द्रायणी देवी उनको शरीरमा प्रवेश गर्नुभयो । इन्द्रायणी देवी आफ्नो शरीरमा प्रवेश गरेपछि शक्ति सञ्चार भई बूढी आमा त आफूलाई खान आएका राक्षससँगै कुस्ती थाल्न थालिन् । कुस्तीमा उनी राक्षसको वध गर्न समेत सफल भइन् ।
राक्षसको वध भएपछि नगरमा राक्षसले दुःख दिन बन्द भयो । इन्द्रायणी देवीको कृपादृष्टिले राक्षसको वध गर्न सकिएको खुशियालीमा हरेक वर्ष उहाँको जात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।
यो जात्राका अवसरमा कीर्तिपुरको द्यःध्वाखा क्षेत्रमा रहेको एउटा पाटीमा अहिले पनि लाखेपाः बस्न जाने चलन भने यथावतै चलिरहेको छ । यही जात्राको अघिल्लो दिन उक्त पाटीमा परालको घर जस्तो बनाएर एक जना स्थानीय व्यक्ति रातभरि लाखेपाः बस्ने चलन छ । जात्राको दिन उक्त लाखेपाः बस्ने व्यक्तिको पनि सम्मान गरिन्छ ।
कीर्तिपुरको इन्द्रायणी जात्रा र त्यससँगै लाखेपाः बस्ने यो परम्पराले मानिसलाई साँच्चैकै ठूलो संकट आइपर्दा आँट मात्रै गर्नुपर्छ, कुनै पनि उपायबाट भित्रदेखि शक्ति सञ्चार हुने र सामुन्न आएको संकटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको पाइन्छ ।