सोनाम वाङचुकले अनशन तोडेपछि भारतमा मोदीलाई केही राहत

काठमाडौं, ८ साउन । सामाजिक कार्यकर्ता सोनाम वाङचुकले केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाखको ‘एपेक्स बडी’का वरिष्ठ नेताहरूसँगको भेटघाटपछि आफ्नो अनशन तोड्नु भएको छ । वाङचुक केही दिनदेखि अनशनमा हुनुहुन्थ्यो ।

सोनम वाङचुकले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह र लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूसँग भेटघाट भएको उल्लेख गर्नुभएको छ । उनले यसअघि विभिन्न राजनीतिक दलका सांसदहरूले प्रत्यक्ष भेटेर वा पत्र लेखेर अनशन तोड्न आग्रह गरेको पनि उल्लेख गर्नुभएको छ । उहाँले अनशन तोडेसँगै भारतमा जारी आन्दोलन केही मत्थर हुने अनुमान गरिएको छ ।

सोनम वाङचुकलाई पहिले दिल्लीको सफदरजङ्ग अस्पतालमा भर्ना गरिएको थियो। वाङचुककी पत्नी गीताञ्जली आङमोले अदालतसँग वाङचुकलाई उपचारका लागि मेदान्ता पठाउन माग गर्नुभएको थियो। दिल्ली उच्च अदालतले सुनुवाइका क्रममा सोनम वाङचुकलाई मेदान्ता अस्पतालमा स्थानान्तरण गर्ने आदेश दिएको थियो। जेपी नड्डा र जितेन्द्र सिंहले मेदान्ता अस्पतालमा वाङचुकसँग भेटघाट गरेका थिए । अनशनका क्रममा स्वास्थ्य बिग्रिएपछि उनलाई स्वास्थ्य निगरानीका लागि राखिएको थियो ।