सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, १ खर्ब १८ अर्ब बिगो दाबी
काठमाडौँ, ८ साउन । सम्पत्ति शुद्धीकरण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा सातवटा ठुला मुद्दाहरूको अभियोजन गरेको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार ती मुद्दाहरूमा १ खर्ब १८ अर्बभन्दा बढी बिगो दाबी गरिएको छ ।
विभागका अनुसार सातवटा मुद्दामा कूल १२१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
विभागमा दर्ता हुने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनाहरूलाई सुरुमा ‘स्क्रिनिङ कमिटी’ मा छलफल गर्ने व्यवस्था छ । उक्त कमिटीले प्रारम्भिक अनुसन्धान आवश्यक ठानेमा अनुसन्धान अधिकृत तोकेर विस्तृत प्रक्रिया अगाडि बढाउने गरिन्छ ।
अनुसन्धान र अभियोजन कार्यलाई प्रभावकारी बनाउन विभागमा हाल चारवटा अनुसन्धान शाखाका अतिरिक्त कानुन तथा परामर्श एकाइ, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा क्रियाशील रहेका छन् ।
विशेष गरी राजस्व चुहावट, भन्सार छली, अन्तःशुल्क तथा वैदेशिक व्यापारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणका कसुरहरूमा विभागले अनुसन्धान केन्द्रित गर्दै आएको छ । पछिल्लो समय गैरकानुनी रूपमा आर्जित सम्पत्तिको अध्ययन र तहकिकातलाई थप तीव्र बनाइएको विभागले जनाएको छ ।