कालीकोटको खाँडाचक्रमा २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार

कालीकोट, २० मंसिर । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।

वडाले बालविवाह न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरेको जनाइएको छ ।

बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीले वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताउनुभयो ।

“बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ”, उहाँले भन्नुभयो, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिनुभयो । “हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।”

विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।

यस नगरपालिकामा उमेर नपुग्दै विवाह गरिदिने चलन रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *