‘विश्वमै दास मोचनको पहिलो प्रयास नेपालका शंखधर साख्वाःले गर्नुभएको थियो’

काठमाडौं, २० मंसिर । विश्वमा दास प्रथा अन्त्य गर्ने पहिलो कार्य अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले गरे भन्ने इतिहास पढ्न पाइन्छ । तर अमेरिकाभन्दा पनि पहिले दास उन्मुलन गर्ने कार्य नेपालमा भएको थियो । विश्व इतिहासमा नेपालले यो दावी गर्न सकिन्छ ।

वरिष्ठ इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर र प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले यो दावी गर्नुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित एक गोष्ठीमा आआफ्नो कार्यपत्र प्रस्तुत गर्दै उहाँहरूले यो दावी पेश गर्नुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल संवत् राष्ट्रिय न्हूदँ समारोह समिति ११४३ द्वारा संयुक्त रुपमा आयोजित ‘शंखधर साख्वाः र नेपाल संवत्’ विषयक विद्वत् गोष्ठीमा उहाँहरुले अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. मानन्धरले भन्नुभयो, ‘नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःले आजभन्दा ११४३ वर्ष अघि तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गर्नुभयो भन्ने जुन इतिहास पाइन्छ त्यो वास्तवमा उहाँले तत्कालीन दासहरूलाई उनीहरूका मालिकलाई पैसा तिरी मुक्त गर्नुभएको हो । त्यो मुलतः दासमुक्तिकै घटना थियो । त्यतिबेला दासमुक्त गर्नु चानुचुने कुरा थिएन । त्यसैले तत्कालीन नेपालको लागि त्यो एउटा ठूलो घटना हो ।’

आजभन्दा १५० वर्षअघि अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले अमेरिकामा दास मोचन गर्नुभएको थियो । तर जुनबेला नेपालमा शंखधर साख्वाःले दास मोचन गर्नुभयो, त्यतिबेला अमेरिका भन्ने देशै पत्ता लागिसकेको थिएन ।

शंखधर साख्वाःले दास मुक्त गर्नुभएको कारणले त्यसपछि नेपालमा धेरै वर्षसम्म दास भनेकै नरहेको जिकिर उहाँले गर्नुभयो । दास मुक्ति जस्तो ठूलो काम भएकोले त्यसैको स्मरणमा नयाँ युगको थालनी स्वरुप नेपाल संवत् आरम्भ भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा दास प्रथाको प्रशंग पशुपतिनाथसँग जोडिएको पाइन्छ । उहाँले भन्नुभयो, ‘शंखधर साख्वाःले दास मुक्ति गरिसके पछि चलाउनुभएको नयाँ संवत् पशुपतिनाथलाई चढाउनुभएको थियो । राणाकालमा चन्द्र शम्शेरले पनि दास मोचनको घोषणा गरेका थिए । त्यतिबेला दासका मालिकहरूलाई तिर्नुपर्ने पैसा चन्द्र शम्शेरले पशुपतिनाथकै कोषबाट झिकेका थिए । मुक्त भएका दासहरूलाई पनि पछि ‘शिवभक्त’ भन्न थालिएको थियो ।’

त्यस्तै अर्का विज्ञ प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भन्नुभयो, ‘संसारमा बोल्नेको पिठो बिक्छ भनिन्छ । हामीलाई अहिलेसम्म पढाइएको पाठ के हो त भन्दा अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले संसारमै पहिलो पटक दास मोचन गर्नुभएको थियो । तर अमेरिकाभन्दा धेरै वर्ष पहिले नेपालमा दास मुक्ति गर्ने कार्य भइसकेको थियो । आजभन्दा ११४३ वर्ष अघि शंखधर साख्वाःले उक्त कार्य गरिसकेका थिए । विश्वको इतिहासमा नेपालले यो दावी गर्न सकिन्छ ।’

स्मरणीय छ, आजभन्दा १५० वर्षअघि अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले अमेरिकामा दास मोचन गर्नुभएको थियो । तर जुनबेला नेपालमा शंखधर साख्वाःले दास मोचन गर्नुभयो, त्यतिबेला अमेरिका भन्ने देशै पत्ता लागिसकेको थिएन ।

‘यदि शंखधरलाई काल्पनिक मान्ने हो भने नेपालको इतिहासमा किरातकाललाई पनि काल्पनिक मान्नुपर्ने हुन्छ, किराती राजा यलम्बरलाई काल्पनिक मान्नुपर्ने हुन्छ, बुद्धलाई समेत काल्पनिक मान्नुपर्ने हुन्छ ।’

कसै कसैले शंखधर साख्वाः यथार्थ होइन काल्पनिक मात्रै हुन् भनी गर्ने टिकाटिप्पणीको खण्डन गर्दै प्रा.डा. श्रेष्ठले भन्नुभयो, ‘यदि शंखधरलाई काल्पनिक मान्ने हो भने नेपालको इतिहासमा किरातकाललाई पनि काल्पनिक मान्नुपर्ने हुन्छ, किराती राजा यलम्बरलाई काल्पनिक मान्नुपर्ने हुन्छ, बुद्धलाई समेत काल्पनिक मान्नुपर्ने हुन्छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कामु कुलपति डा. जगमान गुरुङको सभापतित्वमा भएको उक्त विद्वत् गोष्ठीमा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले आगामी वर्षदेखि दिन मिल्ने गरी सरकारले तीन जना व्यक्तिलाई जनही रु. एक लाखका दरले ‘शंखधर साख्वाः पुरस्कार’ प्रदान गर्ने व्यवस्था गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४३ का अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यले स्वागत गर्नुभएको थियो । सहभागीहरू मध्ये धेरैले अब नेपाल संवत्लाई व्यवहारमा लागू गर्ने बारे चिन्तन गर्नुपर्ने विचार राख्नुभएको थियो ।