रामपुरका महिला ढाका बुनाइले स्वरोजगार बन्दै

पाल्पा, २८ मंसिर । पाल्पा रामपुरका महिला ढाका बुनाइले स्वरोजगार बन्दै गएका छन् । उनीहरू फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर स्वरोजगार बन्दै गएका हुन् ।

शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो । “बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो, “मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु” ।

उहाँ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुनुहुन्छ । ढाका बुनेर एक महिनामा रु २० हजारसम्मको कमाइ हुने गरेको उहाँले बताउनुभयो । जीवन जीउन पहिलेदेखि धेरै सङ्घर्ष गर्नुभएकी उहाँ आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्नुहुन्छ । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उहाँ बताउनुहुन्छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सीप सिक्नुभएकी उहाँ दुई वर्ष अघिदेखि पाल्पाको तानसेनस्थित स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने गर्नुहुन्छ । सानो सीप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उहाँको अनुभव छ ।

तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थाल्नुभएको छ । दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाईले व्यस्त बनाएको छ । तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उहाँमा आत्मबल बढ्दै गएको छ ।

माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ । तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार पाल्ने गर्नुहुन्छ । आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा अरुको निर्भर रहनु नपरेको गाहा बताउनुहुन्छ ।

तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ । ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उहाँ बढी मन पराउनुहुन्छ । ढाका बुनाइसम्बन्धी तीन महिनाको सीप विकास तालिम लिनुभएकी उहाँ तानमा बसेर ढाका बुन्न थालेपछि सीप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउनुहुन्छ ।

“पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ”, उहाँले भन्नुभयो ।

ढाका कपडा बुनेबापत एक मिटरको रु तीन सयदेखि चारसयसम्म कामदारले ज्याला बुझ्ने गर्छन् । हातको सीपले फुर्सदिला महिलालाई रोजगार गर्ने माध्यम ढाका कपडा बुनाइ बनेको छ । पछिल्ला वर्षमा सदरमुकाम तानसेनमा सञ्चालनमा रहेका विभिन्न ढाका उद्योगमा पाल्पाका धेरै महिला संलग्न छन् ।

स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगका सञ्चालक पूर्णमाया महर्जनले हाल दैनिक दुई दर्जन बढी महिलालाई रोजगार दिएको बताउनुहुन्छ । पाल्पामै पहिलो ढाका उद्योग सञ्चालन गर्नुभएकी महर्जनले स्वरोजगार बनाउन महिलालाई सीप सिकाएर आफैँले उद्योगमा काम गर्ने अवसर दिनुभएको छ ।

“महिला आर्थिक क्षेत्रमा अब्बल नहुँदा घरपरिवार, श्रीमान्को अवहेलना सहनुपरेको छ, मैले महिला कामदारलाई मात्रै प्राथमिकता दिएर उद्योगमा तान बुन्न दिने गरेको छु, अहिलेसम्म पाँच हजारभन्दा बढी महिलाले सीप सिकिसकेका छन्”, महर्जनले भन्नुभयो । उहाँको उद्योगमा एक सय वटा विभिन्न खालका तान तयारी अवस्थामा छन् । पित्लुम (खाल्डेतान), हेण्डलुम, हाते जेकार्ड, हातेतान लगायतका तानमा बसेर महिलाले ढाका कपडा तयार पार्ने गरेका छन् । पाल्पाकै पहिलो र पुरानो उद्योग भएकाले यहाँ नयाँ पुराना सबैजसो तान चलनचल्तीमा आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *