घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
काठमाडौँ, असोज १० । तनहुँको शुक्लागण्डकी नगरपालिका २ स्थित दगाम गाउँ घरबास (होमस्टे) पर्यटनका माध्यमबाट आफ्नो पहिचान स्थापित गर्दै गएको छ । मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार तथा आत्मीय आतिथ्यका कारण दगाम ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा सिफारिस गरेपछि यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । भिटोफले ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ अभियानअन्तर्गत हरेक वर्ष तीन गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ ।
भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले गाउँलाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन भइरहेको बताउनुभयो । दगामका २३ घरमध्ये २० घर मगर र तीन घर गुरुङ समुदायका रहेका छन् । मगर समुदायको मौलिक वेशभूषा, संस्कार, संस्कृति र परम्परागत जीवनशैली यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन् ।
स्थानीयवासीले विसं २०६५ मा सिरुबारी गाउँको अवलोकन गरेपछि त्यहाँको घरबास पर्यटनबाट प्रभावित भएर दगाममा पनि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका थिए । हाल पोखरासहित भैरहवा, बुटवल, नारायणगढ र काठमाडौँलगायत स्थानबाट पर्यटक दगाम पुग्ने गरेका छन् ।
दगाम होमस्टे संयोजक नन्द थापाका अनुसार गाउँबाट चारैतिरका डाँडाकाँडा तथा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्मको दृश्य देख्न सकिने उहाँले बताउनुभयो ।
होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादित कोदो, मकै, पिँडालु, सिस्नु लगायतका स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खुवाउने गरिएको छ । स्थानीयस्तरमै उत्पादन गरिएको महसमेत पाहुनालाई उपलब्ध गराउने गरिएको उहाँले जानकारी दिनुभयो । यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै गाउँको मौलिक स्वादलाई पर्यटकीय अनुभवसँग जोडेको छ ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दगाम होमस्टेलाई राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका काम अघि बढाइएको बताउनुभयो । उहाँले घरबास पर्यटनमार्फत स्थानीय संस्कृति र उत्पादनको संरक्षणसँगै स्थानीयवासीको आयआर्जनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
यसैबीच, विश्व पर्यटन दिवसका अवसरमा भिटोफ गण्डकीले दगाममा घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममार्फत दगामको मौलिक संस्कृति, स्थानीय उत्पादन, प्राकृतिक सौन्दर्य र घरबास पर्यटनलाई थप प्रचारप्रसार गर्ने प्रयास गरिएको जनाइएको छ ।
