ट्रम्पद्वारा युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ‘अन्तिम निर्णय’ : जेलेन्स्की

ब्यालिस्टिक मिसाइल प्रहार रोक्न सक्ने थोरै हतियारमध्ये प्याट्रियट प्रणाली प्रमुख मानिन्छ। तर, विश्वव्यापी आपूर्ति संकटका कारण दर्जनौं मुलुकले खरिद बढाउँदा युक्रेनमा यसको आपूर्ति गम्भीर रूपमा प्रभावित भएको थियो।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अत्याधुनिक ‘प्याट्रियट’ मिसाइल निर्माण गर्ने लाइसेन्स दिने अन्तिम निर्णय गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार यस्तो खुलासा गरेका हुन्। रुसी हवाई तथा ब्यालिस्टिक आक्रमणविरुद्ध लड्न संघर्षरत कियभका लागि यो निर्णयलाई ठूलो सैन्य सफलताका रूपमा हेरिएको छ।

अन्तर्राष्ट्रिय समाचार सञ्जालका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा दुई नेताबीच भएको द्विपक्षीय भेटवार्तापछि जेलेन्स्कीले सञ्चारकर्मीमाझ यो जानकारी गराएका हुन्।

“यसबारे ठोस सहमति भइसकेको छ,” जेलेन्स्कीले भने, “हाम्रो अन्तिम भेटमा राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भन्नुभयो— ‘हो, मैले अन्तिम निर्णय गरिसकेको छु, युक्रेनले प्याट्रियट मिसाइल उत्पादन गर्ने लाइसेन्स पाउनेछ।'”

महासभाका क्रममा जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई “प्यासेन्ट जिरो” (सङ्क्रमणको मूल स्रोत) को संज्ञा दिँदै पुटिनलाई जति बढी स्वतन्त्रता दिइन्छ, विश्व त्यति नै ठूलो खतरामा पर्ने चेतावनी दिएका थिए।

महिनौंदेखिको अनिश्चितताको अन्त्य

रुसका निरन्तर ब्यालिस्टिक मिसाइल आक्रमणलाई हावामै नष्ट गर्न सक्ने ‘ट्र्याक-एन्ड-डिस्ट्रोय’ क्षमतायुक्त प्याट्रियट इन्टरसेप्टर प्रणाली निर्माणको अधिकार पाउने/नपाउने विषयमा कियभ महिनौंदेखि अन्योलमा थियो।

यसअघि जुलाईमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले युक्रेनलाई प्याट्रियट उत्पादनको अधिकार दिने सङ्केत गरे पनि पछिल्ला हप्ताहरूमा सो प्रस्तावप्रति अनिच्छा देखाएका थिए। सीएनएनका अनुसार यस विषयमा ह्वाइट हाउससँग आधिकारिक प्रतिक्रिया मागिएको छ।

अभावले थलिएको युक्रेनी रक्षा प्रणाली

ब्यालिस्टिक मिसाइल प्रहार रोक्न सक्ने थोरै हतियारमध्ये प्याट्रियट प्रणाली प्रमुख मानिन्छ। तर, विश्वव्यापी आपूर्ति संकटका कारण दर्जनौं मुलुकले खरिद बढाउँदा युक्रेनमा यसको आपूर्ति गम्भीर रूपमा प्रभावित भएको थियो।

यसै हतियार अभावको फाइदा उठाउँदै रुसले विगत एक महिनादेखि कियभलगायत क्षेत्रमा निरन्तर हवाई आक्रमण गरिरहेको छ। प्याट्रियटको अभावमा रुसी आक्रमण छेक्न युक्रेनलाई सकस परिरहेको छ भने नागरिक मृत्युदर उल्लेख्य बढेको छ।

कियभका मेयरका अनुसार शुक्रबार दिउँसो भएको ड्रोन आक्रमणमा एक किशोरसहित सात जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

यसअघि अगस्तमा सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनसँग आवश्यक इन्टरसेप्टर मिसाइलको जम्मा १० प्रतिशत मात्र भण्डार रहेको खुलासा गरेका थिए। अमेरिकाको हालको भण्डारको ५ प्रतिशतले युक्रेनलाई जाडोभरि जोगाउन सक्ने र १० प्रतिशत दिएमा रुसका सम्पूर्ण ब्यालिस्टिक मिसाइल निष्क्रिय पार्न सकिने उनको भनाइ थियो।

यूएईमा त्रिपक्षीय वार्ताको प्रस्ताव

पत्रकार सम्मेलनका क्रममा जेलेन्स्कीले वासिङ्टनले युक्रेन, रुस र अमेरिकाबीच त्रिपक्षीय वार्ता आयोजना गर्ने प्रस्ताव राखेको समेत खुलासा गरे।

“त्रिपक्षीय भेटका सम्बन्धमा अमेरिकी पक्षले नै आयोजना गर्ने प्रस्ताव राखेको हो,” जेलेन्स्कीले भने। भेटको मिति तोकिएको नभए पनि अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई) लाई सम्भावित स्थलका रूपमा सुझाव दिएको छ।

जेलेन्स्कीका अनुसार यूरोपेली साझेदारहरूसँग विस्तृत छलफल गर्ने र अमेरिकी पक्षले रुससँग संवाद अघि बढाएपछि आगामी १० दिनभित्र ठोस नतिजासहित दृष्टिकोण सार्वजनिक गरिनेछ। रुसले भने अहिलेसम्म त्रिपक्षीय वार्तामा पूर्ण प्रतिबद्धता नजनाए पनि यस्तो वार्ता “चाँडै” हुन सक्ने सङ्केत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *