काठमाडौंका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन

काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिका आफ्नो २८ औं महानगर दिवस मनाइरहेकै बेला तत्कालीन काठमाडौं नगर पञ्चायतका प्रधानपञ्च कमल चित्रकारको निधन भएको छ ।

उहाँ वि.सं. २०३८ देखि ०४४ सम्म तत्कालीन काठमाडौं नगर पञ्चायतका निर्वाचित प्रधानपञ्च हुनुहुन्थ्यो ।

गत सोमबार राती अबेर वीर अस्पतालमा उहाँको निधन भएको हो ।

उहाँ नेपाली कांग्रेस पार्टीसँग आवद्ध हुनुहुन्थ्यो । भोलि विहीवार उहाँको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको कुरा पारिवारिक स्रोतबाट थाहा भएको छ । स्रोतका अनुसार भोलि बिहान पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा उहाँ अन्त्येष्टि गरिने छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको दोस्रो नेपाल भ्रमण हुँदा उहाँले नै पहिलो पटक नगरपिताका रुपमा काष्ठमण्डपमा एलिजावेथ द्वितीयलाई काठमाडौँको साँचो हस्तान्तरण गर्नुभएको थियो । पछि कुनै पनि मुलुकको राष्ट्रप्रमुखबाट नेपालको राजकीय भ्रमण हुँदा काष्ठमण्डपमा नगरको साँचो हस्तान्तरण गर्ने परम्परा नै बसालिएको थियो ।

नेपालमा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण गर्ने प्रयास उहाँले नै गर्नुभएको थियो । त्यतिबेला काठमाडौंको टेकुमा विद्युतीय शवदाह गृह स्थापना गर्ने तयारी भएको थियो । त्यसको लागि भवन समेत निर्माण भइसकेको थियो, तर पछि शवदाह गर्ने विद्युतीय मेशिन ल्याउँदा भवनको ढोकाभन्दा ठूलो भएकोले भित्र प्रवेश गराउनै सकिएको थिएन ।

भित्र प्रवेश गराउन नसकिएको उक्त मेशिन लामो समयसम्म बाहिर राख्दाराख्दै नष्ट भएको थियो भने त्यतिबेला यो एउटा काण्डकै रूपमा प्रचारित भएको थियो ।