माझी समुदायको मौलिक संस्कृति ‘पितरा पर्व’
दिवङ्गत आफन्तको सम्झना
काठमाडौँ, कार्तिक १ । काभ्रेपलाञ्चोकका माझी समुदायले दिवङ्गत आफन्तको सम्झनामा परापूर्वकालदेखि मनाउँदै आएको मौलिक सांस्कृतिक पर्व ‘पितरा पर्व’ यस वर्ष पनि परम्परागत विधिअनुसार मनाउने गरेका छन् । दसैँको विजयादशमी र तिहारको भाइटीकापछि सुरु हुने यो पर्व तीन दिनसम्म मनाइन्छ ।
अन्य समुदायमा दिवङ्गत आफन्तको वार्षिक पुण्यतिथिमा श्राद्ध गर्ने परम्परा रहे पनि माझी समुदायमा भने एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्न नपर्ने मान्यता छ । अल्पसङ्ख्यक माझी समुदायले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै यो पर्व मनाउँदै आएका छन् ।
मण्डनदेउपुर नगरपालिका १० आँपचौरका रामकृष्ण माझीका अनुसार वर्षभरिमा परिवारमा कसैको मृत्यु भएमा दसैँ वा तिहारपछि पितरा निकाल्ने परम्परा छ । आँपचौरमा माझी समुदायको बाक्लो बस्ती रहेकाले गाउँमा वर्षभरि निधन भएका व्यक्तिको सम्झनामा सामूहिक रूपमा पितरा पर्व मनाउने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय युवाले पनि यस परम्परालाई निरन्तरता दिन सक्रियता देखाउँदै आएका छन् ।
स्थानीय जनविश्वासअनुसार महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदीको किनारमा पुगेका थिए। नदी पार गर्न नसकेपछि उनीहरूले डुङ्गा चलाइरहेका एक माझीसँग सहयोग मागे । माझीले नदी पार गराइदिएपछि खुसी भएका महादेव दम्पतीले माझी समुदायका मानिसको मृत्यु हुँदा जीवित आफन्तले नाचगान गरे उनीहरू सिधै स्वर्ग पुग्ने वरदान दिएको किंवदन्ती छ। यही विश्वाससँग जोडिएर पितरा पर्वको सुरुआत भएको स्थानीय माझीहरू बताउँछन् ।
पितरा पर्व सबै परिवारले हरेक वर्ष मनाउनैपर्ने बाध्यता भने छैन । वर्षभरिमा कुनै परिवारमा मृत्यु भएको अवस्थामा मात्रै उक्त परिवारबाट पितरा निकाल्ने चलन रहेको स्थानीय राजकुमार माझीले बताउनुभयो । उहाँका अनुसार भाइटीकाको भोलिपल्टदेखि दसैँको विजयादशमीको भोलिपल्टसम्मको अवधिमा मृत्यु भएमा त्यसै वर्ष पितरा निकाल्ने परम्परा छ । भाइटीकाको भोलिपल्ट मृत्यु भएमा भने परिवारले अर्को वर्षको विजयादशमीको भोलिपल्टसम्म जुठो बार्ने मान्यता छ ।
नेवार समुदायको गाईजात्रासँग केही समानता देखिए पनि पितरा पर्वका आफ्नै विशिष्ट धार्मिक तथा सांस्कृतिक विधि छन् । स्थानीय ध्रुव माझीका अनुसार पितरा निकाल्नुअघि दिवङ्गत आफन्तलाई निमन्त्रणा गर्ने उद्देश्यले घरका भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर र हवाईजहाजलगायतका आकृति बनाइन्छन्। मृतात्मा ती सवारीसाधनमा चढेर आउने जनविश्वासअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै पहिरनका आकृतिसमेत बनाउने चलन छ। पर्वका क्रममा एक व्यक्तिले मृतकको अभिनयसमेत गर्ने गर्दछन् ।
पितरा निकाल्ने दिन ‘मूल भोटे’ले धार्मिक विधिको सुरुआत गर्छन् भने समुदायका अन्य सदस्यले विभिन्न काममा सहयोग गर्छन्। यस क्रममा माझी समुदायका दुई बालिकालाई पुरोहितका रूपमा पूजा गर्ने परम्परा छ। ती बालिकालाई अन्य समुदायका व्यक्तिले छुन नहुने र छोएमा अशुभ हुने मान्यता रहेको स्थानीयवासी बताउँछन् । पर्वका क्रममा मूल भोटेले दुई ‘गुरुङ’ छनोट गरी उनीहरूसहित मृतात्मालाई निमन्त्रणा गर्दै नदीसम्म जाने चलन छ । यस क्रममा देशभक्ति झल्काउने तथा सुखदुःखका गीत गाउने गरिन्छ ।
नदीसम्म जाने बाटो मर्मत तथा सरसफाइ गरी घर फर्केपछि परिवारको इच्छाअनुसार मृतकको आत्मालाई बोलाएर उसको इच्छा बुझ्ने विधिसमेत गरिन्छ। यसका लागि तन्त्रमन्त्रको प्रयोग गरिने र मृतकको परिवारले चाहेमा मात्रै आत्मा बोलाउने गरिएको माझीले बताउनुभयो। पर्वका क्रममा रातभर भजन गाउने र नाचगान गर्ने परम्परा छ। पितरा निकालेपछि बनाइएका आकृति भोलिपल्ट उज्यालो हुनुअघि नै कसैले नदेख्ने गरी मेटाउने चलनसमेत रहेको छ।
तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेपछि अन्तिम दिन सबेरै पितरालाई नदीमा लगेर सेलाइन्छ। यससँगै पर्वको समापन हुन्छ । पितरा पर्व मनाएपछि दिवङ्गत आफन्तको आत्मा पुनः नफर्कने र जीवित परिवारका सदस्यलाई कुनै विघ्नबाधा नआउने विश्वास माझी समुदायमा रहिआएको छ । कुनै वर्ष गाउँमा पितरा निकाल्नुपर्ने अवस्था नआए पनि समुदायले त्यसलाई सुखद मान्दै दसैँ मनाउने गरेका छन् ।
माझी समुदायको मौलिक पहिचान, धार्मिक विश्वास र सामूहिक जीवनशैलीसँग जोडिएको पितरा पर्वले दिवङ्गत आफन्तको सम्झना गर्ने विशिष्ट परम्परालाई जीवन्त राखेको छ । यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय युवाको सहभागिताले समुदायको सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउँदै आएको छ ।
