उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
बडादसैँ महाअष्टमी
काठमाडौँ, कार्तिक १ । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर उत्तरमा अवस्थित मन्दिरमा अष्टमी मेला भर्न तथा भगवतीको दर्शन गर्न बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका अवसरमा मन्दिरमा विशेष पूजाआराधना गर्नुका साथै राँगा र बोकाको बलि दिने परम्परा छ। दसैँका दिन पनि मन्दिरमा भव्य पूजाआराधना गरिन्छ। मेलामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला तथा देशका अन्य क्षेत्रबाट समेत भक्तजन आउने गरेको उहाँले बताउनुभयो।
उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्ये एक प्रमुख शक्तिपीठका रूपमा लिइन्छ। किंवदन्तीअनुसार करिब दुई हजार पाँच सय वर्षअघि हालको अमरगढी नगरपालिका ८ स्थित लटाउली गाउँमा खेत जोत्ने क्रममा हलोको फालीले शिलामा लाग्दा रगत बगेपछि देवी प्रकट भएको विश्वास गरिन्छ ।
त्यस घटनापछि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गर्न थालिएको जनविश्वास छ । लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डितले परम्परादेखि नै मन्दिरमा पुजारीका रूपमा सेवा गर्दै आएका छन् ।
विशाल फाँटमा अवस्थित उग्रतारा मन्दिर डाँडामाथि रहेकाले दर्शनार्थीलाई सहज रूपमा आवतजावत गर्न सकिने अध्यक्ष साँकीले बताउनुभयो। धार्मिक आस्था र ऐतिहासिक महत्त्वका कारण यस मन्दिरमा दसैँलगायत विशेष पर्वमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
उग्रतारा भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन महापूजा तथा ठूलो मेला लाग्ने परम्परा छ । ‘देइजात’ नामले परिचित उक्त मेलामा प्राचीनकालमा विभिन्न गर्खाका लडाकुबीच वीरता प्रदर्शनका क्रममा युद्ध हुने गरेको स्थानीय किंवदन्ती छ। उक्त युद्धमा रगतको खोलो बगेको स्थानलाई ‘न्वाखोला’ नामले चिनिने जनविश्वास रहेको छ ।
