आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ,  कात्तिक १  । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । बडादसैँको आठौँ दिनका रूपमा मनाइने महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ ।

वैदिक सनातन धर्मग्रन्थअनुसार महाअष्टमीका दिन देवी दुर्गालाई शक्तिशाली बनाउने उद्देश्यले विशेष पूजाआराधना गरिन्छ । यस दिन दशैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विधिपूर्वक पशुबलिसहित दुर्गा भवानीको पूजा गर्ने चलन छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरी देवीको आराधना गरिन्छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ । जल, चन्दन, अक्षतालगायत सामग्रीबाट षोडशोपचार विधिले गरिने पूजा सात्विक, पशुबलिसहित गरिने पूजा राजस र पशुबलिका साथै मदिरा चढाएर गरिने पूजा तामस मानिने उहाँले बताउनुभयो । उहाँका अनुसार शास्त्रीय विधिअनुसार पशुबलि दिने परम्परा पनि धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

धर्मशास्त्रमा ब्राह्मणका लागि भने पशुबलि निषेध गरिएको उल्लेख छ । आसुरी प्रवृत्तिको नाश, देवीको शक्ति अभिवृद्धि तथा पशुको मुक्तिसँग पशुबलिको धार्मिक मान्यता जोडिएको धर्मशास्त्रविद्हरू बताउँछन् । दुर्गा सप्तशतीको आठौँ अध्यायमा समेत यससम्बन्धी चर्चा रहेकाले पशुबलिलाई शास्त्रविपरीत मान्न नमिल्ने डा. गौतमको भनाइ छ । उहाँका अनुसार राज्य सञ्चालनका लागि आवश्यक प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति प्राप्तिका लागि पनि शास्त्रमा विधिपूर्वक पशुबलि दिनुपर्ने उल्लेख छ ।

महाअष्टमीकै राति कालरात्रिका रूपमा विशेष पूजाआराधना र बलिको विधि सम्पन्न गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष धार्मिक महत्त्व रहेको बताइन्छ ।

महाअष्टमीका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी र बगलामुखीलगायत शक्तिपीठमा बिहानैदेखि पूजाआराधना गर्ने श्रद्धालुको भीड लाग्ने गर्छ ।

त्यसैगरी उपत्यकाबाहिर धादिङको कालिका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरालगायत शक्तिपीठमा पनि भक्तजनले विशेष पूजाआराधना गर्ने परम्परा छ ।

आजका दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधन सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने चलन छ । यस्ता साधनलाई देवीका शस्त्रअस्त्रका रूपमा मानी पूजा गरिन्छ। देवीका शस्त्रअस्त्रसँगै चतुरङ्गिणी सेनाको आह्वान गरी पूजा गर्ने परम्परासमेत रहेको छ । पशुबलि नचढाउनेहरूले आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवललगायत सामग्री प्रतीकात्मक बलिका रूपमा चढाएर पूजा गर्ने गर्छन् ।

महाअष्टमीको राति हनुमानढोकास्थित दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिएर कालरात्रि पूजा गर्ने परम्परा छ । यस पूजालाई बडादसैँका अवसरमा गरिने विशेष धार्मिक अनुष्ठानका रूपमा लिइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *