बाढीपहिरो प्रभावितलाई प्रवासी नेपालीको करिब आठ लाख सहयोग

मनसुनजन्य विपद् प्रभावित

काठमाडौँ, कार्तिक १ । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले करिब आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

रोजगारी, पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका जलजला गाउँपालिकाका बासिन्दा आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले गाउँपालिकाको विपद् कोषमा सात लाख ८३ हजार ३५८ रुपैयाँ ५० पैसा सहयोग गरेको हो।

अस्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलित उक्त रकम गाउँपालिकाको विपद् कोषमा जम्मा गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँले सहयोगदाताप्रति आभार व्यक्त गर्दै प्राप्त रकम विपद्बाट क्षति पुगेका निजी आवास तथा भौतिक पूर्वाधारको पुनर्निर्माणमा परिचालन गरिने बताउनुभयो।

गाउँपालिकाका अनुसार बाढीपहिरोका कारण जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। थप १४० घर जोखिममा रहेको विवरण सङ्कलन गरिएको छ। फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ र पालसीङ क्षेत्र बाढीपहिरोबाट बढी प्रभावित भएका छन्। नदी तथा खोलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिमसमेत बढेको छ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास तथा पुनर्निर्माणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइएको बताउनुभयो । तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउनुका साथै अस्थायी टहरा निर्माण गरी प्रभावितलाई बसोबासको व्यवस्था मिलाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

दीर्घकालीन योजनाअन्तर्गत सरकारी नीतिअनुसार क्षतिग्रस्त निजी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण गरिने उपाध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त सडक, खानेपानी आयोजना, सिँचाइ संरचना र विद्यालय भवनको पुनर्निर्माण गर्नुका साथै जोखिममा रहेका बस्तीको संरक्षण पनि आवश्यक छ ।

बाढीपहिरो नियन्त्रण तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय र प्रदेश सरकार, दातृ निकाय तथा विभिन्न सहयोगदातासँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *