त्रिशूली नदीमा झोलुङ्गे पुल सञ्चालन, बाढी प्रभावित बस्तीलाई आवतजावतमा राहत
त्रिशूली (नुवाकोट), १ कात्तिक । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुई पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको समस्यालाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको हो ।
गत भदौ १० गतेको बाढीले पक्की पुल बगाएपछि स्थानीयवासीले नदी वारपार गर्न तुइन तथा जिपलाइनको सहारा लिनुपरेको थियो । विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजार र नदीपारिका बस्तीमा आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो ।
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावत गर्न, राहत सामग्री ओसारपसार गर्न तथा पुनःस्थापनाका काम अघि बढाउन सहज भएको छ ।
नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम पूरा भएपछि स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो । पुलका दुवैतर्फ चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने बाँकी छन् ।
“भोटेकोशी बाढीले त्रिशूली नदी र आसपासका खोला तथा नदीमाथिका संरचनामा क्षति पुर्याएपछि वारपारका लागि निर्माण गरिएको यो पुल पहिलो हो,” प्याकुरेलले भने, “चाडपर्वको समयमा र बाढी प्रभावित क्षेत्रका बासिन्दाले तुइनबाट आवतजावत गर्दा भोग्नुपरेको कष्ट कम गर्न पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै सञ्चालनमा ल्याएका हौँ ।”
पुलका केही संरचना निर्माण गर्न बाँकी रहेकाले वारपार गर्दा पुल हल्लिने समस्या रहेको छ । यद्यपि, निर्माण पक्षले प्राविधिकको भनाइ उद्धृत गर्दै पुलबाट एकैपटक ठूलो सङ्ख्यामा यात्रु आवतजावत गर्न सक्ने जनाएको छ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपछि त्रिशूली नदी वारपार गर्न प्रयोग गरिने पक्की संरचना क्षतिग्रस्त हुँदा स्थानीयवासीले जोखिमपूर्ण माध्यमबाट यात्रा गर्नुपरेको बताए । तुइन र जिपलाइनबाट सीमित सङ्ख्यामा मात्रै यात्रु वारपार गर्न सकिने अवस्थामा झोलुङ्गे पुल सञ्चालनमा आएपछि आवतजावत सहज भएको उनको भनाइ छ ।
पुल निर्माणका लागि तीन करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । निर्माण पक्षका अनुसार हालसम्म एक करोड ६८ लाख रुपैयाँ खर्च भएको छ भने थप १० लाख रुपैयाँ बराबरको काम गर्न बाँकी छ ।
पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । उक्त रकम निर्माण व्यवसायी कोषमार्फत सुनिश्चित गरिएको र अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाइएको छ ।
पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका–१ को ढुङ्गेबाट बाढी प्रभावित त्रिशूली बजार हुँदै विदुर नगरपालिका–७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ । यसबाट विदुर नगरपालिकाका अन्य बस्ती, किस्पाङ र म्यागङ गाउँपालिका, रसुवाका वडा नं. १, २ र ३ तथा धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई समेत सुविधा पुगेको छ ।
त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरणको नुवाकोट वितरण केन्द्र तथा विद्यालयमा आवतजावत गर्न पनि पुलले सहजता थपेको छ । पुलका दुवैतर्फ सडक सञ्जाल जोडिएकाले नदी वारपार गरेपछि यात्रुले सवारीसाधनमार्फत आफ्नो गन्तव्यसम्म पुग्न सक्ने भएका छन् ।
पुलको अभावमा त्रिशूली बजार क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउन, पुरिएका संरचनाको खोजतलास गर्न तथा नदीपारि खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन कठिनाइ हुँदै आएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ ।
