काठमाडौं महानगरपालिकाबाट परम्परागत बाजा गुरुहरु सम्मानित

काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको उपलक्ष्यमा महानगरभित्रका विभिन्न जातीय समूहका परम्परागत बाजा गुरुहरुलाई सम्मान गरेको छ ।

राष्ट्रिय सभागृहको हलमा आज आयोजित एक कार्यक्रमका बीच बाजा गुरुहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ उपस्थित हुनुभएको थियो । उहाँले सम्मानित बाजा गुरुहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सम्मानित गुरुहरुलाई नगद र टीका प्रदान गरी सम्मान गर्नुभएको थियो ।

यो वर्ष काठमाडौं महानगरपालिकाले परम्परागत ज्यापू टोलका ६३ जना दाफा गुरु, खड्गी समुदायका ४५ जना नाय्खिं बाजाका गुरु र विभिन्न टोलका २३ जना धाः बाजा गुरुहरुलाई सम्मान गरेको हो ।

सम्मान स्वरुप हरेक गुरुलाई जनही रु. ३० हजार प्रदान गरिएको हो ।

परम्परागत संगीतको माध्यमबाट महानगरको संस्कृति र सम्पदा संरक्षणमा योगदान पु¥याए वापत काठमाडौं महानगरपालिकाको अघिल्लो नेतृत्वले बाजा गुरुहरुलाई सम्मान गर्ने यो परम्परा आरम्भ गरेको हो ।