म्याग्दीमा पहिरो प्रभावितको आफैँ व्यवस्थापन : आश्रयस्थल छाडेर आफन्तका खाली घरमा बस्न थाले

शिख (म्याग्दी) ।  अविरल वर्षा र पहिरोपछि घरबारविहीन बनेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का प्रभावित परिवार सरकारी आश्रयस्थल छाडेर आफन्तका खाली घर तथा सुरक्षित स्थानमा सर्न थालेका छन्। अस्थायी टहरा र पालको बसाइभन्दा आफन्तका खाली घरमा बस्न सहज भएपछि विस्थापितहरूले आफैँ बसोबासको व्यवस्था मिलाउन थालेका हुन्।

अन्नपूर्ण–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुन पहिरोपछि केही दिन शिखको अस्थायी आश्रयस्थलमा बस्नुभयो। तर, पोखरा बसाइँ सरेकी दिदी सुनमाया तिलिजाको खाली घर पाएपछि उहाँ अहिले त्यहीँ सर्नुभएको छ। “सरकारले कतिञ्जेल आश्रयस्थलमा राख्न सक्ला र भन्ने लागेर दिदीकै घरमा सर्‍यौँ,” भूमदेवीले भन्नुभयो, “आफ्नै घर नबनाउँदासम्मका लागि यही आश्रय बनेको छ।”

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङ पहिरोको उच्च जोखिममा परेका थिए। गाउँसँगको सम्पर्क विच्छेद भएपछि ९१ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा ल्याएर अस्थायी आश्रयस्थलमा राखिएको थियो।

टोल संयोजक दीपक तिलिजाका अनुसार धेरैजसो विस्थापितले दसैँअघि नै आफन्तका खाली घर तथा सुरक्षित ठाउँमा स्थानान्तरण भइसकेका छन्। पहिरोले घर, गोठ र अन्नपात सबै गुमाउनुभएका नारायण शेरपुञ्जा पुन भने अझै अन्योलका बीच आश्रयस्थलमै हुनुहुन्छ। “घरमा भएका आलु, मकै र सबै सामान पहिरोले बगायो,” पुनले दुःखेसो पोख्नुभयो। चार वर्षअघि पहिरोले भत्काएको घर पुनःनिर्माणको अनुदान पूरा नपाउँदै उहाँको नयाँ घर पनि पहिरोले बगाएको हो।

वर्षा रोकिएपछि प्रभावितहरू दिनभर गाउँ पुगेर खेतबारी र घरायसी काम गर्ने र साँझ सुत्न होल्डिङ सेन्टर फर्किने गरेका छन्। स्थानीय रेकबहादुर पुर्जाका अनुसार विपद्का बेला सरकारको मात्र मुख ताकेर नबस्ने सोचका साथ सम्भव हुनेहरूले आफैँ बसोबासको व्यवस्था गरेका हुन्।

स्थानीय अगुवा गणेश गुरुङ (सुरेन) ले घर भत्किएर सामान निकाल्न नपाएकाहरूका लागि खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको अभाव अझै रहेकाले राहत सामग्री जुटाउने प्रयास भइरहेको जानकारी दिनुभयो।

भौगर्भिक अध्ययनमा ढिलाइ र आधारभूत सेवाको चुनौती

अन्नपूर्ण गाउँपालिका–५ मा पुनःस्थापना र आधारभूत पूर्वाधार विकास ठूलो चुनौती बनेको छ। वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार हाल श्रमदानमार्फत पदमार्ग निर्माण भइरहेको छ भने विद्युत् र खानेपानी सेवा पुनःसञ्चालनको प्रयास जारी छ।

“बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली आउन ढिलाइ हुँदा पुनःस्थापनाको निर्णय लिन कठिन भएको छ,” वडाध्यक्ष पुनले भन्नुभयो। कुन बस्ती सुरक्षित छ र कुन स्थानान्तरण गर्नुपर्छ भन्ने यकिन नहुँदा स्थानीयवासी अन्योलमा छन्।

अन्य आश्रयस्थल पनि खाली हुँदै

गाउँपालिकाका अन्य वडामा रहेका आश्रयस्थल पनि बिस्तारै खाली हुन थालेका छन्। अन्नपूर्ण–५ पाउद्धारका १ १५ जना विस्थापित राखिएको घारस्थित वडा नम्बर ६ को आश्रयस्थल कात्तिक १ गतेदेखि बन्द भएको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो। विस्थापितहरू वर्षा भए पुनः फर्किने गरी सामान आश्रयस्थलमै छाडेर गाउँ फर्किएका छन्।

त्यस्तै, अन्नपूर्ण–८ महभिरका ३० परिवार बस्दै आएको सिरुवारीको आश्रयस्थल पनि खाली भएको छ। वडाध्यक्ष खमबहादुर गर्बुजाका अनुसार विस्थापितहरू आफैँ खाली घर खोजेर सरेका छन्।

यस वर्षको मनसुनजन्य विपद्मा परी अन्नपूर्ण गाउँपालिकामा छ जनाको मृत्यु भएको छ भने ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विस्थापितहरूको जीवन बिस्तारै सामान्यतर्फ फर्कन थाले पनि सुरक्षित पुनःस्थापना नभएसम्म उनीहरूको सास्ती भने कायमै रहने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *