उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन एकै दिन कारबाहीमा परेका छन्। दसैँका बेला ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकलाई निगरानीमा राख्दै कारबाही तीव्र बनाएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार शनिबार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभी क्यामराको निगरानीबाट ४० र रातो बत्ती उल्लङ्घन गर्ने ३७ चालकलाई कारबाही गरिएको छ।
कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११५, हर्न बजाएर सवारी चलाउने नौ, लेन अनुशासन उल्लङ्घन गर्ने दुई र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने सात सवारीसाधन कारबाहीमा परेका छन्।
यसैगरी, अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। दसैँका समयमा सवारी नियम उल्लङ्घनका घटना नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ।
