बंगालको खाडीको प्रणालीले बिहीबारदेखि वर्षा–हिमपातको सम्भावना

काठमाडौँ, ८ कात्तिक । बङ्गालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्ने भएको छ। मौसमविद्हरूले बिहीबार रातिदेखि शुक्रबार रातिसम्म प्रभाव बढी देखिने र केही स्थानमा भारी वर्षासमेत हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीको मध्य उत्तरी भागमा रहेको न्यूनचापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुने क्रममा छ। उक्त प्रणाली भारतको तटीय क्षेत्र हुँदै भारतीय भूभागमा प्रवेश गर्ने र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना छ।

लामिछानेका अनुसार आगामी तीन दिनसम्म मौसममा ठूलो फेरबदल हुने देखिएको छैन। मङ्गलबारसम्म पहाडी तथा हिमाली जिल्लामा आंशिक बादल लागे पनि अधिकांश स्थानमा वर्षाको सम्भावना कम छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनसक्ने तथा तराई र उपत्यकाका केही क्षेत्रमा बिहान हुस्सु लाग्नसक्नेछ।

बुधबारदेखि भने कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने, केही स्थानमा वर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान छ। बिहीबार दिउँसोदेखि यी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना थप बढ्नेछ। शनिबार दिउँसोसम्म पूर्वी नेपालमा प्रणालीको प्रभाव बढी रहने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा तुलनात्मक रूपमा बढी वर्षा हुनसक्नेछ भने कर्णाली, सुदूरपश्चिम र लुम्बिनीको पश्चिमी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना कम छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *