कालीकोटमा भेटिन थाले लोप हुन थालेका चितुवा

कालीकोट, ३ पुस । कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । चोरी सिकारी, बासस्थानको अभावका कारण लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन् । गत शुक्रबार बेलुकी कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका २ को कोट खर्कमा चितुवा भेटिएको थियो ।

मोटरसाइकलमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका ९ डाँफे माध्यमिक विद्यालयका प्रधानाध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताउनुभयो ।

“कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा देखेको हुँ”, उहाँले भन्नुभयो, “दुर्लभ हुँदै गएको चितुवा कर्णाली करिडोर क्षेत्रमा भेटिएको हो ।”

चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ । “बस्ती भएको ठाउँ र निकै व्यस्त रहने सडक नजिक चितुवा भेटिएको छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा लामो समयपछि चितुवा देखिएको हो ।”

विगतमा चितुवाले भेडाबाख्रा, गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५ /२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन । तर अहिले गाउँमा दुई वटा बाख्रा र एउटा गाई मारेको नरहरिनाथ गाउँपालिका ९ लालुका ६२ वर्षीया पदमबहादुर शाहीले बताउनुभयो ।

कालीकोट जिल्लामा यसभन्दा अघि कतै नदेखिएको चितुवा अहिले केही ठाउँमा देखिएको सुन्नमा आएको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेशकुमार गिरीको भनाइ छ ।

“चितुवा हिमाली जिल्लामा देखिँदैनथ्यो । चितुवा खास गरी तराई, चुरे भावर र पहाडी जिल्लामा बसोबास गर्छ”, उहाँले भन्नुभयो, “हिमाली जिल्लामा चितुवा देखिन बासस्थान, आहारा र पानीको खोजीका कारणले हुनसक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *