बुटवलको नयाँ ट्रेकिङ रुटः फूलबारी – नुवाकोटगढी

रुपन्देही, ४ पुस । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ ।

नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ । बुटवल–नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रुपमा विकास थालिएको छ । लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल–नुवाकोटमा एकदिने हाइकिङका रुपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् ।

नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्राको सुरुआत गरिएको हो । फूलबारी–नुवाकोट हाइकिङ पर्यटन प्रवद्र्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रका लागि फूलबारी–नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो ।” उहाँले बुटवल–नुवाकोटगढी हाइकिङले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनःबुटवल फर्किंदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अतिउत्तम हुने बताउनुभयो । उहाँले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।