हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जको क्यामेरा ट्यापिङ
चितवन, ५ पुस । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो ।
बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो ।
बाघ घाइते अवस्थामा रहेको भन्ने सूचना र हात्तीसमेत सोही क्षेत्रमा रहेकाले तीनको अवस्था पहिचान गरी व्यवस्थापनका लागि काम भइरहेको उहाँले बताउनुभयो । क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचेसँगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिदैछ ।
उहाँले भन्नुभयो, “अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ”, उहाँले थप्नुभयो, “ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ ।”
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ ।