आज पनि पानी पर्दा पोहोर सालको बाढी सम्झेर झस्किन्छ यो गाउँ
सुरेश किरण
काठमाडौं, १३ पुस । काठमाडौंमा सरकार बदलिरहे, समीकरण बदलिरहे । तर सानो र त्यसमाथि दुर्गम जिल्ला मनाङको ताल गाउँमा गत वर्ष आएको बाढीले जे बिगारेको हो त्यसमा कहिले बदलाव आउँछ, त्यो शायद कसैलाई थाहा छैन ।
वि.सं. २०७८ सालको असार १ गते राति मस्र्याङ्दी नदीमा अचानक आएको बाढीले नदी छेउको यो सानो गाउँ पूरै डुबाएको थियो । बाढीले कुनै मानवीय क्षति त गरेन तर गाउँ पूरा भने मानव बस्न योग्य रहेन ।
केही समयको डर, त्रास र शोकपछि स्थानीय मानिसहरू आफै सक्रिय भई गाउँमा मानवीय गतिविधि त बढाए तर गाउँ पुरानै चहलपहल सहितको जीवित वस्तीको रुपमा भने अझै फर्कन सकेको छैन । गाउँ छिर्दा यो अझै पनि कुनै बिरान वस्ती नै पो हो कि भन्ने भान पर्न सक्छ ।
हिमाली जिल्ला मनाङ यात्रामा जाँदा लमजुङ कटेर मनाङ जिल्ला टेक्ने बित्तिकै पुगिने पहिलो गाउँ रहेछ ताल । ५७ घरधुरी रहेको यो गाउँको जनसंख्या करिब ३०० जति मात्रै हो । तर यो मनाङको ट्रेकिङ रुटमा पर्ने पुरानो मार्ग भएकोले यो ठाउँको चहलपहल भने बेग्लै हुने गथ्र्यो । लामो हिँडाइ पछिको थकान मेट्न पर्यटकहरू यहाँ एक दिन विश्राम लिने गर्छन् ।
त्यसैले पनि ताल गाउँ पूरै एउटा पर्यटक वस्ती भन्दा हुन्छ । गाउँका ५७ धुरी घर मध्ये दुई चार बाहेक सबै घरमा होटल खोलिएको थियो । तर पोहोर आएको बाढीले जम्मै होटलहरू पानीमा बिलाए ।
सोही ठाउँमा फादर एण्ड सन होटल सञ्चालन गरिरहनुभएका स्थानीय युवा व्यवसायी विमला गुरुङ त्यतिबेला आएको बाढीको वर्णन गर्दै भन्नुहुन्छ —
‘त्यो रात बाढी त अलि अघि नै आएको होला । तर हामीले थाहा पाउँदा राति ३ बजिसकेको थियो । त्यति बेलासम्म बाढी मस्र्याङ्दी छोडेर गाउँमा छिरि नै सकेको थियो । सबैजना कराउँदै बाहिर निस्के । हामी पनि निस्क्यौँ । तर निस्केर कहाँ जाने ? रातको समय । पानी परिरहेको मौसम । दायाँबायाँ दुवैतिर अग्ला पहाड । गाउँलाई विस्तारै पानीले निल्दै थियो । यस्तो अवस्थामा अब मर्ने निश्चितै भयो भनेर सबै जनाले बच्ने आश छोडिसकेको थियो ।
हामीलाई पहाडमा खोपिएको एउटा पुरानो तर अत्यन्तै साँधुरो बाटो थाहा थियो । तर धेरै समय प्रयोगहिन भएकोले त्यो बाटो के अवस्था छ भन्ने थाहा थिएन । अब कुनै उपाय नभएपछि हामी त्यही बाटो भएतिर कुद्यौँ । सबै हतार हतार पहाड चढ्दै त्यही बाटो लाग्यौँ ।
बुढाबुढीहरूलाई लान असाध्यै गाह्रो भएको थियो । तै पनि युवाहरू मिलेर उहाँहरूलाई पनि बोकेरै लिएर गयौँ । हामी अँध्यारो रातमै त्यो मसिनो बाटो हुँदै पारिपट्टि डाँडाको माथि रहेको गेराङ गाउँमा गयौँ । र, त्यहीं बस्यौँ ।
बिहान तलतिर हेर्दा हामीले देख्यौँ, गाउँ त पूरै डुबिसकेको थियो । सबै घरको करिब दुई तल्ला पानीमा डुबेको अवस्थामा थियो ।’
पछि पानी सुक्दै गयो । तर गाउँमा छिर्ने साहस भने कसैले गर्न सकेको थिएन । धेरै जसोले तब ताल गाउँ छोडेर माथि नै कतै बसोवास गरौँ भन्ने बिचार समेत गरिसकेका थिए ।
केही दिनपछि गाउँका बाढीपीडित जनतालाई राहत सामग्री वितरण गर्ने काम शुरु हुन थाल्यो । त्यसमा खास गरी खाद्यान्न, न्यानो कपडा आदि जस्ता सामग्रीहरू वितरण गरिएको थियो । त्यही राहत सामग्री लिनका लागि पनि मानिसहरू धमाधम तल झर्न थाले ।
आफूहरू पुस्तौंदेखि बस्दै आएको घर, बाटो, वस्तीको अवस्था देखेर सबैको मन रोयो । त्यो वस्तीमा फर्केर पुनः बस्न आउने आँट पनि कसैले गर्न सकेन । तर आफ्नो गाउँ छोडेर नयाँ ठाउँमा बस्न गए पनि के गर्ने ? व्यवसाय यता छ । घर व्यवहार यता छ । रहनसहन र संस्कार संस्कृतिहरू यतै छन् । यी सबै छोडेर कहाँ जाने ?
तर आफूहरू पुस्तौंदेखि बस्दै आएको घर, बाटो, वस्तीको अवस्था देखेर सबैको मन रोयो । त्यो वस्तीमा फर्केर पुनः बस्न आउने आँट पनि कसैले गर्न सकेन । तर आफ्नो गाउँ छोडेर नयाँ ठाउँमा बस्न गए पनि के गर्ने ? व्यवसाय यता छ । घर व्यवहार यता छ । रहनसहन र संस्कार संस्कृतिहरू यतै छन् । यी सबै छोडेर कहाँ जाने ?
यही सोचेर गाउँमा दुःख सहेर भए पनि पुनः वस्ती बसाउने निष्कर्षमा गाउँलेहरू पुगे । क्षति भएका घरहरू बनाउन थाले । अलि अलि रंगरोगन पनि गरे । तर बाढीले जुन घरहरू पूरै ढलेका थिए, ती घरहरू पुनः उठाउन भने गाह्रो भयो । त्यस्ता घरहरु अझै उठ्न सकेका छैनन् । त्यसको लागि आवश्यक लगानी, स्रोत र साधनको अभावले घरधनीहरू आँट गर्न सकिरहेका छ्रैनन् । राज्यको ध्यान जानु टाढाकै कुरा भयो ।
नभत्केका घरहरू पनि पानी र वालुवाले पूरै भरिएका कारण बस्न सकिने अवस्थामा छैनन् । ताल गाउँमा सञ्चालित लघु विद्युत गृहका अपरेटर केशर गुरुङले आफ्नो भग्न घर देखाउँदै भन्नुभयो, ‘यो मेरो घरमा २२ कोठा थियो । अहिले जम्मा दुइटा कोठा मात्रै बस्नयोग्य छ । पूरै भत्काएर नयाँ नबनाए कामै छैन ।’
भग्न भएका यस्ता धेरै घरहरू अहिले त्यसै छोडिएका छन् । कोही चाहिँ भग्नावशेषलाई नै अलि अलि पन्छाएर बस्न थालेका छन् ।
बाढीले स्थानीय श्री भानु माध्यमिक विद्यालयको पूरा भवन पनि पूरै बगाएको थियो । त्यस्तै त्यो सँगैको एउटा गुम्बा पनि बगाएको थियो । स्थानीय मानिसहरूले आआफ्नो घरहरु बनाए पनि स्कुल र गुम्बाको भवन भने बनाउन सकेका छैनन् ।
श्री भानु माविमा पढ्ने विद्यार्थीहरू अन्तै गइसकेका छन् । अब गाउँमा विद्यार्थीहरू नै छैनन् । सरकारले स्कुल सञ्चालन गर्ने कुनै सुर गरेको देखिँदैन ।
श्री भानु माविमा पढ्ने विद्यार्थीहरू अन्तै गइसकेका छन् । अब गाउँमा विद्यार्थीहरू नै छैनन् । सरकारले स्कुल सञ्चालन गर्ने कुनै सुर गरेको देखिँदैन ।
स्थानीय युवा विमलाका अनुसार गत साल मनाङमा जुन बाढी आयो, त्यस्तो बाढी यहाँ कहिल्यै आएको थिएन । विमलाका हजुरबा हजुरआमाहरूले समेत आफ्नो जीवनमा त्यस्तो बाढी आएको न कहिल्यै देख्नुभएको छ, न सुन्नुभएको छ । कसरी त्यत्रो बाढी आयो होला भनेर आजसम्म कसैले भन्न सकेको छैन ।
विमला भन्नुहुन्छ, ‘गाउँको हविगत यस्तो छ । मस्र्याङ्दी अझै बगिरहेकै छ । यहाँ आउने मानिसहरू हामीलाई यहाँ बस्न डराउँदैनौ भनेर सोध्ने गर्छन् । डर त लाग्छ नि । अहिले पनि पानी पर्यो कि मस्याङ्दी फेरि बढ्ने हो कि भनेर डर लागेर आउँछ । तर डर लागेर के गर्ने ? आफ्नो गाउँ र दुई चार पैसा कमाउने ठाउँ यही हो । यहाँ डर लाग्यो भने यो ठाउँ छोेडेर कहाँ जाने ?’
तस्बिरहरुः सुरेश किरण