बौद्ध ग्रन्थ ‘ललितविस्तर’ सम्बन्धी शोधग्रन्थ विमोचन

काठमाडौं, १६ पुस । भगवान बुद्धको जीवनीमा आधारित ऐतिहासिक बौद्ध ग्रन्थ ‘ललितविस्तर’ बारे गरिएको शोधसम्बन्धी पुस्तक शनिवार विमोचन गरियो । लेखक नरेशवीर शाक्यले उक्त पुस्तक लेख्नुभएको हो ।

काठमाडौं स्वयम्भूस्थित आनन्दकुटी विहारका प्रमुख धम्ममूर्ति महास्थविर, भिक्षु पञ्ञामूर्ति, भिक्षु प्रियदस्सी, लोट्स रिसर्च सेन्टरका अध्यक्ष प्रा.डा. सुरेन्द्रमान बज्राचार्य, लेखक नरेशवीर शाक्यले उक्त पुस्तकको सामुहिक रुपमा विमोचन गर्नुभएको थियो ।

ईलोहं प्रकाशन प्रा.लि.बाट प्रकाशित उक्त पुस्तकका दाता दाता पद्मादेवी शाक्य हुनुहुन्छ । कार्यक्रममा बोल्दै लेखक लेखक शाक्यले आफूले बुद्ध धर्ममा स्नातकोत्तर अध्ययनका क्रममा ‘ललितविस्तर एक तुलनात्मक अध्ययन’ विषयक शोधग्रन्थ तयार गरेको र अहिले त्यसैलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुस्लिम आक्रमणकारीहरुले भारतको नालन्दा विश्वविद्यालयमा आगो लगाउँदा त्यहाँ रहेका थुप्रै बौद्ध ग्रन्थहरू जलेर खरानी भए । त्यसपछि महत्वपूर्ण बौद्ध ग्रन्थहरू नेपालमा मात्रै बाँकी रहे । अब हामीले ती ग्रन्थहरूलाई सार्वजनिक गर्नुपर्छ ।’

लोट्स रिसर्च सेन्टरका अध्यक्ष प्रा.डा. सुरेन्द्रमान बज्राचार्यले ललितविस्तर पुस्तक सर्वास्तिवादीहरूको पुस्तक हो भने पछि यसलाई महायानी सम्प्रदायले पनि ग्रहण गरेको बताउनुभयो ।

आनन्दकुटी विहारका प्रमुख धम्ममूर्ति महास्थवीरले बुद्ध धर्म सम्बन्धी हरेक पुस्तकले दिने ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो ।