चितवनकाे इच्छाकामनामा बौलाहा कुकुरको टोकाइबाट २५ घाइते
चितवन, २० पुस । चितवनकाे इच्छाकामना गाउँपालिकामा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् ।
जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेका र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ ।