झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
झापामा जोखिमयुक्त क्षेत्रको निगरानी
काठमाडौँ, असोज १० । बङ्गालको खाडीबाट विकसित हुँदै अघि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिमयुक्त क्षेत्रको निगरानीका लागि पहिलो पटक ड्रोन प्रयोगमा ल्याइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी, सूचना सङ्कलन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन शुक्रबारदेखि ड्रोन प्रयोगमा ल्याएको हो । डिभिजन वन कार्यालयसँगको समन्वयमा सञ्चालन गरिएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबानको सम्भावना भएका क्षेत्रको निगरानी गरिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै आवश्यक सूचना सङ्कलन र उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताउनुभयो । जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा उद्धार तथा अन्य प्रतिकार्य अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार गौरीगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी जिल्लामा एक हजार १६९ घरपरिवार डुबानको जोखिममा रहेका छन् ।
सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा तयारी अवस्थामा राखिएको छ । त्यस्तै, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोलीलाई समेत आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् । शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाएर जोखिम क्षेत्रका बासिन्दालाई सतर्क गराइएको थियो । ती नदी क्षेत्रमा तीनवटा साइरन जडान गरिएका छन् ।
शुक्रबार साँझतिर ती नदीको जलसतह घटेको जनाउँदै उहाँले इलाम क्षेत्रमा हुने वर्षालाई समेत आधार बनाएर झापामा बाढीको पूर्वसूचना प्रणाली सञ्चालन गरिएको बताउनुभयो । इलाममा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले सोही समयलाई आधार मानेर साइरन बजाउने तथा ‘अर्ली वार्निङ सिस्टम’मार्फत जोखिममा रहेका क्षेत्रमा सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
