उदयपुरमा हात्ती गाउँ प्रवेश गर्न थालेपछि स्थानीय त्रसित

उदयपुर,२० पुस । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् ।

खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताउनुभयो ।

एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरु रातभरि जाग्रम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताउनुभयो ।