महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता

दार्चुला, २४ पुस । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

ब्यास गाउँपालिका-४ डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको दार्चुला प्रहरीले जनाएको छ । बिष्ट ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।

खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको प्रहरी निरीक्षक मगरले बताए । उनले भने, आवश्यक परेमा जिल्लाबाट समेत थप प्रहरी पठाइने छ ।