बुढीगण्डकीमा बाढीले पुल बगाएपछि तुइनबाट नदी तर्नुपर्ने बाध्यता
गोरखा, ११ मङ्सिर । बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई आवतजावत सहज बनाउन बुढीगण्डकी नदीमा दुईवटा तुइन जडान गरिएको छ।
झोलुङ्गे पुल महाशाखाले गाउँपालिका केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी तुइन सञ्चालनमा ल्याएको हो। यसअघि खोर्लाबेँसी र केरौँजाबेँसी जोड्ने तुइन पनि सञ्चालनमा ल्याइएको थियो।
तुइनबाट एकपटकमा दुई जनासम्म नदी वारपार गर्न सक्ने व्यवस्था छ। स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन्।
तुइन सञ्चालनपछि स्थानीयलाई केही सहज भए पनि यात्रा जोखिमपूर्ण रहेको स्थानीय फिरेन्द्र घलेले बताउनुभयो। उहाँले तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्ने माग गर्नुभएको छ।
