शिक्षिकाले दिएकाे पानी स्पिरिट भएपछि छात्राको मृत्यु, विद्यार्थीले गरे आन्दाेलन

सिरहा, २४ पुष । सिरहाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

शिक्षिकाले दिएकाे पानी स्पिरिट भएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते विद्यालयमा औषधी खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिइन् । छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्पिरिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइयो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन गरेका हुन्।

लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।