भक्तपुरका चाँगुनारायणको काठमाडौं यात्रा
काठमाडौं, २५ पुस । भक्तपुरस्थित श्री चाँगुनारायणको काठमाडौं देश यात्रा भर्खरै सम्पन्न भएको छ । देश दुनियाँका मानिसहरूलाई आफ्नो दर्शन गर्ने अवसर प्रदान गरी पूण्य सञ्चय गराउने उद्देश्यले देवीदेवताहरूलाई बेला बेलामा देश दर्शन गराउने परम्परा छ ।
यसै क्रममा गएको पौषशुक्ल पूर्णिमाका दिन भक्तपुरस्थित श्री चाँगुनारायणको काठमाडौं यात्रा सम्पन्न भएको छ ।
चाँगुनारायणको यो यात्रामा चाँगुनारायणको प्रतीक स्वरुप एउटा चाँदीको कलशलाई काठमाडौंमा ल्याउने गरिन्छ ।
चाँगुनारायणदेखि ल्याइने उक्त कलश काठमाडौंको तीनधारा पुगेपछि गुर्जुको पल्टन समेत त्यहीं पुगी स्वागत गर्दै हनुमानढोका पुर्याइन्छ । हनुमानढोका पुगेपछि चाँगुनारायणलाई तलेजु भवानीको दर्शन गराइन्छ ।
त्यस क्रममा बसन्तपुरबाट जीवित देवी श्री कुमारीलाई पनि हनुमानढोकासम्म ल्याइन्छ । त्यहाँ श्री कुमारीलाई साक्षी राखी चाँगुनारायणलाई तलेजुभित्र प्रवेश गराइन्छ ।
विधिअनुसारको पूजा सकिएपछि श्री चाँगुनारायणलाई फर्काइन्छ । फर्कने क्रममा भने हनुमानढोकाको बाटोभरि चाँगुनारायण कशलको अगाडि नै माटाका भाँडाकुँडाहरू फुटाउने गरिन्छ ।
हनुमानढोका वरपरका स्थानीय मानिसहरूले यसरी माटाका भाँडाकुँडाहरू फुटाउने चलन छ । घर फर्कन लागेका चाँगुनारायणलाई अपशकुन लागोस् र उहाँ चाँगु नफर्की काठमाडौंमै बसोस् भन्ने अभिप्रायले यसरी भाँडाकुँडा फुटाइएको जनश्रुति पाइन्छ ।
तर भाँडाकुँडा फुटाएर अपकुशन लगाए पनि श्री चाँगुनारायणको फिर्ती भने रोकिँदैन । उहाँको यात्रा हनुमानढोकाबाट सिधा शितल निवासस्थित राष्ट्रपति कार्यालयमा पुग्छ । राष्ट्रपतिलाई चाँगुनारायणको फूल प्रसाद अर्पण गरिन्छ । त्यसपछि चाँगु नै फर्काइन्छ ।
तर हनुमानढोकामा यसपटक भने एउटा अनौठा घटना भयो । हनुमानढोका ल्याइएका श्री चाँगुनारायणको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन आउनुभएको थियो । यस अघि यो पर्वमा उपराष्ट्रपति लगायत कुनै पनि सरकारी पदाधिकारीको सवारी चलाउने चलन थिएन । उपराष्ट्रपति पुनले आफू दर्शनको लागि आउने इच्छा व्यक्त गर्नुभएकोले उहाँलाई निमन्त्रण गरिएको बताइएको छ ।
तर उपराष्ट्रपतिको सवारीका कारण सुरक्षा व्यवस्था कडा गरिएकोले भक्तजन र पर्वका आयोजकहरूले भने सास्ती भोग्नुपरेको गुनासो सुनिएको थियो ।
तस्बिरः मैत्री न्यूज