लुम्बिनी प्रदेशमा लिला गिरी आजै मुख्यमन्त्री बन्दै, ५० बढी सांसदको समर्थन रहने
बुटवल, २६ पुस । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा बहुमतको सरकार बन्ने भएको छ । प्रदेश १ र गण्डकीपछि आजै तेस्रो मुख्यमन्त्रीका रुपमा एमालेका तर्फबाट लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । एमालेको नेतृत्वमा नेकपा माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनमा एमालेका संसदीय दलका नेता लिला गिरी आजै मुख्यमन्त्री बन्ने निश्चित भएको छ । सालिन, इमानदार र अनुभवी नेताको छवि बनाउनु भएका एमालेका पोलिटब्यूरो सदस्य गिरीलाई ०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा समर्पित नेता हुनुहुन्छ । उहाँ रुपन्देही क्षेत्र नं. २ (१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । एमालेले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो ।
प्रदेशमा स्वतन्त्र सांसद तीन जना रहेका छन् । तीमध्ये एकजना सांसद माओवादीमा प्रवेश गरेका छन् भने अरु दुई जनाले पनि वर्तमान एमाले नेतृत्वको समीकरणलाई सघाउने बताइएको छ । यद्यपि औपचारिक निर्णय हुन भनेबाँकी छ । नवलपराशी पश्चिम र रुकुम पूर्वबाट एक÷एक जान गरी स्वतन्त्रमा दुई जना सांसद निर्वाचित भएका छन् । यी दुबै जना माओवादीबाट बागी बनेर जितेका थिए । लुम्बिनी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका मात्रै २९ सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४५ जना सांसद भए बहुमत पुग्छ ।
एमाले नेतृत्वको समीकरणमा स्वतन्त्रका दुईजना सांसद समेतको संख्या जोड्दा कुल सांसदको संख्या ५२ पुग्छ । यो सुविधाजनक संख्या हो । ५२ जना सांसदको समर्थन सहित एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा सरकार गठनका लागि आज मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी छ । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गतेसम्मको समयावधि तोक्नुभएको थियो ।
प्रदेश प्रमुख शेरचनले तोकेको समयावधि भित्रै बहुमत सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेश गर्नेगरी तयारी भइरहेको एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँले सत्तासमीकरणमा रहेका सबै दल र स्वतन्त्र समेतको समर्थनमा सरकार गठन र मन्त्रालयको भागबण्डालगायतका लागि आन्तरिक छलफल जारी रहेको बताउनुभयो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) २९, नेपाली काँग्रेस २७, नेकपा माओवादी केन्द्र १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जसपन ३, लोसपा ३, एकिकृत समाजवादी पार्टी १, जनमोर्चा १ र अन्य (स्वतन्त्र) २ जना रहेका छन् ।
स्वतन्त्रकै रुपमा रोल्पाबाट निर्वाचित दिपेन्द्रकुमार पुन माओवादीमा प्रवेश गर्नुभएको छ । उहाँ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका प्रदेश सभापति अमर पुनलाई बागी बनेर पराजित गर्नुभएको थियो । उहाँले माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।
अरु दुईजना स्वतन्त्र पनि माओवादीबाट विद्रोह गरेर बागी बनेर जितेका हुन् । लुम्बिनीमा एमाले नेतृत्वको समीकरणका विरुद्ध कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जनमोर्चा रहेका छन् । कांग्रेसका २७, लोसपाका ३ तथा जनमोर्चा र समाजवादीका एक–एक जना सांसद छन् । समाजवादीले यहाँ प्रत्यक्षमा एउटा पनि सिट जितेको छैन । समानुपातिकबाट एकजना मात्र सांसद छन् ।