नागरिकतामा दोस्रो श्रीमान्को नाम राख्ने बढे रोल्पामा

रोल्पा, २७ पुस । रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै रोल्पामा नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् ।

पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकतामा दोस्रो श्रीमान्को नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्षमा पहिलो श्रीमान्को नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।

सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकतामा पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्ने गरी आउने गरेका छन् ।

“जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ”, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भन्नुभयो ।