अछाम र बझाङका भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै नेपाल रेडक्रस

डोटी, २७ पुस । अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका ६ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।

साथै डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई ती तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालेको हो । सोसाइटीका अनुसार ती तीन जिल्लाका भूकम्प अतिप्रभावित तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो ।

सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ । एक हप्ताभित्र ती सामग्री वितरण भइसक्ने संस्थाले जनाएको छ । स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएका सोसाइटीले जनाएको छ ।
भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न ७३ हजार ६ सय, अत्यावश्यक वस्तु खरिद गर्न १५ हजार र शौचालय निर्माण गर्न १० हजार गरी ९८ हजार ६ सय प्रदान गर्न थालिएको सोसाइटीले जनाएको छ ।

सोसाइटीका अनुसार भूकम्पबाट सबैभन्दा बढी डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरुकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । सोसाइटीले ती तीनसय अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ । स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरुकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।