चक्रवात ‘अर्नब’को आंशिक प्रभाव नेपालमा, वर्षा र हिमपातको जोखिम

काठमाडौँ, १२ कात्तिक । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको आंशिक प्रभावले नेपालमा कात्तिक १४ गतेसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको चक्रवात क्रमशः कमजोर हुँदै गएको छ। सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ रहेको यो प्रणाली कमजोर भएर ‘भीषण चक्रवाती आँधी’मा झरेको र थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कुन–कुन प्रदेशमा वर्षा र हिमपातको सम्भावना?
महाशाखाका अनुसार कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले जलवाष्पयुक्त हावा ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा तथा हिमपातको सम्भावना देखिएको हो। यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने उहाँले बताउनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *