दसैँ बिदापछि जिल्ला प्रशासनमा सेवाग्राहीको चाप बढ्यो
सेवाग्राहीको चाप
काठमाडौँ, कार्तिक १२ । दसैँ बिदा सकिएसँगै खोटाङको जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ। दसैँ मनाउन घर आएका नागरिक चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा विभिन्न सिफारिस र प्रमाणित कागजात बनाउन सदरमुकाम आउन थालेपछि कार्यालयमा भीड बढेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । नयाँ नागरिकता लिनेमा ४९ पुरुष र ३२ महिला छन् । यसैगरी, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० पुरुष र १२ महिला रहेका छन् ।
कार्यालयबाट ११ जनाले राहदानी लिएका छन् भने २८ जनाले राहदानीका लागि विवरण दर्ता (इनरोलमेन्ट) गराएका छन् । त्यस्तै, ६३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने एक जनाले नाबालक परिचयपत्र बनाएका छन् ।
यस अवधिमा छवटा सिफारिस प्रमाणित गरिएको र अन्य निकायमा आठवटा पत्र पठाइएको कार्यालयले जनाएको छ । नागरिक एपमार्फत प्राप्त २० वटा गुनासोसमेत फर्छ्योट गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार दसैँ बिदामा घर आएका अधिकांश नागरिक चाडपर्व सकिएपछि काम तथा अध्ययनका लागि आफ्नो कर्मथलो फर्कने क्रममा आवश्यक कागजात बनाउन सदरमुकाम आउने गरेका छन् । यही कारण जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको उहाँले बताउनुभयो ।
सेवाग्राहीले एकअर्काको पालो नमिचून् र सेवा प्रवाह व्यवस्थित होस् भन्ने उद्देश्यले कार्यालयका केही फाँटमा टोकन प्रणाली लागू गरिएको छ । जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको चाप बढी देखिएको छ ।
