नेपालमा कुनै पनि देशको सैन्य गतिविधि हुन दिदैनौँः ओली

काठमाडौं, ६ माघ । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा आज राजधानीको एक होटलमा आयोजना गरेको सो कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले असंलग्न र तटस्थ परराष्ट्र नीति रहेको नेपालले सबै राष्ट्रसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो । ‘छिमेक सम्बन्धका सन्दर्भमा ‘हामी तनावरहित असल छिमेक सम्बन्ध चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘छिमेकको अहित गर्ने असल छिमेकी मानिँदैन, हामी छिमेकीको कुभलो गर्दैनौं, उनीहरूका जायज चासोलाई यथोचित सम्बोधन गर्छौं ।’

‘दुई छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु नहुने उहाँको भनाई थियो । उहाँले दुई छिकेकीसँग कार्ड खेल्न नहुनेमा पनि जोड दिनुभयो । कसैका विरूद्धमा नेपाली भूमि प्रयोग हुन नदिइने भन्दै उहाँले नेपालमा कुनै पनि देशको सैन्य अड्डा राख्न, सैन्य गतिविधि हुन नदिने ठोकुवा गर्नुभयो । देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अतिक्रमण हुने कुरामा सम्झौता हुन नसक्ने उहाँको भनाई छ ।

विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने र विश्व शान्तिमा चुनौती हुने गतिविधि कुनै पनि देशले गर्न नहुने विचार व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हामी मानवीय मूल्य, मानव जीवनको मूल्यलाई महत्व दिन्छौं । युद्धलाई साथ समर्थन गर्दैनौं । कहीँ युद्ध छ भने वार्ताद्वारा अन्त्य गरिनुपर्छ ।

उहाँले सबै देश सार्वभौम सत्ताको हिसावले समान छन् भन्ने कुरा विश्वमा स्थापित हुनैपर्छ भन्नुभयो । नेपालको परराष्ट्र सम्बन्ध पारस्परिक लाभ तथा सम्मानमा आधारित रहेकोे अध्यक्ष ओलीको भनाई छ । ‘विश्व शान्ति र विश्व भ्रातृत्व हाम्रो स्थायी परराष्ट्र नीति हो,’ अध्यक्ष ओलीले भन्नुभयो– अघिल्लो सरकार परराष्ट्र सम्बन्धका सन्दर्भमा असन्तुलित र विवादास्पद ढङ्गले चल्यो । राष्ट्रिय हितलाई कमजोर बनाउने काम गर्यो ।

विभागले नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध, कुटनीतिक अभ्यास,विधि, व्यवस्था, कुटनीतिक व्यवहार आदिका बारेमा जानकारी प्रदान गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।

दुई दिने अभिमुखीकरणमा परराष्ट्र मामिला विभागका सदस्यहरू र विदेश सम्बन्ध रहेका जनसंगठनका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
अभिमुखीकरणको पहिलो दिन आज स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले अभिमुखीकरण कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक कूटनीतिका विषयमा प्रस्तुति दिनुभएको थियो । पूर्व राजदूत डाक्टर नारद भारद्वाजले ‘सिफ्टिङ जिओ पोलिटिक्स इन द मिडल इष्ट कन्ट्रिज एण्ड अपर्चुनिटिज् फर नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डाक्टर करण ठगुन्नाले ‘ओभरभ्यु अफ इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन एण्ड नेपालः फाइनान्सियल रिलेशन्स एण्ड प्रस्पेक्ट्स’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अभिमुखीकरणको दोस्रो दिन शनिवार कूटनीतिक अभ्यास प्रोटोकल सम्बन्धी ज्ञान, आतिथ्यता, कूटनीतिक अभ्यासमा सुरक्षा सन्दर्भ लगायत विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्यले जानकारी दिनुभयो । आजको कार्यक्रममा कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पदमा अर्याल उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *