शहीद शुक्रराज शास्त्रीको प्रतिमामा पुष्प अर्पण गर्दै शहीद सप्ताह शुरु

काठमाडौं, १० माघ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आज बिहान कामपा वडा नं. १२ टेकुस्थित शहीद शुक्रराज जोशी ‘शास्त्री’ को सालिकमा पुष्प अर्पण गर्दै शहीद सप्ताह आरम्भ गर्नुभयो ।

काठमाडौं महानगरपालिकाको आयोजनामा आजबाट एक सातासम्म विभिन्न कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ ।

आज बिहान भएको कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख डंगोलले तत्कालीन अँध्यारो युगमा आफ्नो ज्यानको बलिदान दिई जनतालाई उज्यालो प्रदान गर्नुहुने महान शहीदहरूको सपनालाई पूरा गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शहीदको सपना पूरा गर्न हामीसँग भित्रैदेखि इमान्दारिता र कर्तव्यनिष्ठता हुनुपर्दछ । त्यसपछि मात्रै शहीदको सपना पूरा गर्न सकिन्छ ।’

उपप्रमुख डंगोलले शुक्रराज शास्त्री एक राजनीतिक नेता मात्र नभई नेपालभाषा (नेवार भाषा) का एक प्रखर सेवक पनि रहेको बताउनुभयो । शास्त्रीले उपत्यकामा बोलिने प्रमुख नेपालभाषाको पहिलो व्याकरण पुस्तक लेख्नुभएको थियो ।

कार्यक्रममा कामपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन लगायतले पनि पुष्पगुच्छा अर्पण गर्दै मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको मध्यतिर कामपाका प्रमुख बालेन साह पनि उपस्थित हुनुभएको थियो ।

वि.सं. १९९७ सालको आजकै दिन टेकुको मचलीस्थित खरीको बोटमा झुण्ड्याई शुक्रराज जोशी ‘शास्त्री’ लाई मृत्युदण्ड दिइएको थियो । तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका उहाँ पहिलो शहीद हुनुहुन्छ ।

त्यसपछि माघ १३ गते धर्मभक्त माथेमालाई सिफलको जंगलमा बकैनाको रूखमा झुण्ड्याई मृत्युदण्ड दिइएको थियो भने माघ १५ गते शोभा भगवतीस्थित बिष्णुमती खोलाको दोभानमा दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली ठोकी मृत्युदण्ड दिइएको थियो ।

काठमाडौं महानगरपालिकाले आउँदो माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमा र माघ १५ गते शोभा भगवतीस्थित शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको प्रतिमामा पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

माघ १६ गते शहीद दिवसका रुपमा काठमाडौंको शान्तिबाटिकाबाट प्रभातफेरि आयोजना गरी लैनचौरस्थित शहीद पार्कमा मुख्य सभा आयोजना गर्ने कार्यक्रमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुनेछ ।