क्यामब्रेन पट्रोलमा नेपाली सेनाले हातपारे लगातार पाँचौँपटक स्वर्ण

काठमाडौँ, २२ असोज । नेपाली सेनाले बेलायतमा सम्पन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक जितेको छ। यससँगै नेपाली सेनाले यस प्रतियोगितामा लगातार पाँचौँपटक स्वर्ण पदक हात पारेको छ।

बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ र २२ गते सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेको हो। संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा पदक वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतियोगितामा बेलायतसहित ३५ देशका १३० टोली सहभागी थिए। सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको क्यामब्रेन पट्रोलमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।

प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरका उपकरण बोकेर दुई दिनभित्र ४० माइल दूरी पार गर्नुपर्ने हुन्छ। यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायत विभिन्न सैनिक सीपको परीक्षण गरिन्छ।

नेपाली सेनाले यसअघि सन् २०१७, २०१९, २०२४ र २०२५ मा पनि क्यामब्रेन पट्रोलमा स्वर्ण पदक जितेको थियो। २०२६ मा समेत स्वर्ण जितेसँगै नेपाली सेनाले कठिन सैनिक अभ्यासमा आफ्नो निरन्तर उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *