श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

काठमाडौँ, २२ असोज । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।

विभागले बिहीबार विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानको ध्यानाकर्षण गराएको हो।

कानुनी व्यवस्थाअनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागका उपमहानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सम्बन्धित श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने जनाइएको छ।

विभागले कानुनमा व्यवस्था भएको चाडपर्व खर्च समयमै उपलब्ध गराई श्रमिकको अधिकार सुनिश्चित गर्न सबै रोजगारदाता तथा प्रतिष्ठानलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *