सहिद सप्ताह

सहिद हाम्रा इतिहास हुन्, वर्तमानलाई राम्रो गर्न उहाँहरुको इतिहास विर्सिनु हुँदैनः उपमेयर डंगोल

काठमाडौं, १३ माघ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको छ । सहिद धर्मभक्त माथेमाले प्राणदण्ड पाउनु भएको ठाउँ सिफल उकालोमा आज स्मृति सभामा सहिदको सालिकमा पुष्पगुच्छा अर्पणपछि सम्वोधन गर्दै उहाँले यस्तो चर्चा गर्नुभएको हो ।

‘माथेमामा राजनीतिक चेतना थियो, उहाँ शारीरिक व्यायामका प्रवर्धक हुनुहुन्थ्यो, उपमेयर डंगोलले भन्नुभयो, ‘राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो ।’

उपमेयर डंगोलले उहाँको इतिहासलाई सबैले स्मरण गर्नुपर्ने पनि बताउनुभयो । ‘शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो,’ उहाँले भन्नुभयो, ‘त्यो सुख–सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’

उपप्रमुख डंगोलले सबै सहिद हाम्रो इतिहास हुन् भन्दै वर्तमानलाई राम्रो गर्न इतिहासलाई विर्सिनु हुँदैन भन्नुभयो । ‘समृद्ध नेपाल निर्माणको परिकल्पना गरिरहेका हामीले त अझ त्यो इतिहासलाई विर्सिनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘धर्मभक्त माथेमाको योगदानलाई त अझ हामीले कहिल्यै विर्सन मिल्दैन । उहाँ आफैँ पनि भारतमा अध्ययन गर्नुभएको व्यक्ति हो ।’

धर्मभक्तको इतिहासबारे उल्लेख गर्दै डंगोलले उहाँको व्यायम लामिलबारे पनि संक्षिप्त जानकारी दिनुभयो । ‘धर्मभक्तको इतिहास हेर्ने हो भने उहाँले भारतमै शारीरिक व्यायमको तालिम लिनु भएको थियो र त्यसैबाट उहाँ च्याम्पियन पनि हुनुभएको थियो,’ डंगोलले भन्नुभयो, ‘बंगाल आफै पनि राजनीतिक चेतको हिसावमा भारतकै सचेत क्षेत्र हो । त्यहीँ अध्ययन गर्नुभएका उहाँमा राजनीतिक प्रभाव विस्तारै हुर्किदैँ गएको देखिन्छ । उहाँले नेपाल फर्किएपछि पनि नेपाल प्रजापरिषद्मा संस्थापक सदस्यका रुपमा काम गरेको इतिहास छ ।’

उहाँको चर्चाबाट आत्तिएर पनि उहाँलाई मृत्युदण्ड दिएको हुनसक्ने डंगोलको भनाई थियो । ‘उहाँले तत्कालिन राजा त्रिभूवनको व्यायम प्रशिक्षकका रुपमा पनि काम गरेको देखिन्छ । राजपरिवारसँग नजिक उहाँले त्यतिबेला प्रजापरिषद् र राजपरिवारबिच मध्यस्तकर्ताको रुपमा काम गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण पनि उहाँ निरंकुश जहानियाँ राणा शासनको आँखाको तारो बन्नुभएको थियो । त्योसँगै उहाँले व्यायमशाला नै खोलेर त्यतिबेला धेरै चर्चा कमाउनु भएको थियो । उहाँको त्यो चर्चा पनि धेरैलाई मन परेको थिए । उहाँलाई मृत्युदण्ड दिनुको एउटा कारण त्यो पनि हो भन्ने गरिन्छ ।’

माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको स्मरण गराउँदै डंगोलले महानगरको लगानीमा निर्माण हुने मानव सेवा आश्रम उहाँकै नामबाट बनाउने योजनामा रहेको बताउनुभयो ।

हरेक वर्ष सहिदहरुको स्मृति सभामा काठमाडौं महानगरपालिकाका मेयरसहितको उपस्थिति हुने चलन थियो । तर, यो पटक मेयर बालने साह सहिदहरुको स्मृति सभामा कतै पनि देखिनु भएको छैन ।

सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा आज स्मृति सभा गरिएको हो ।
आज सभा गरिएको स्थान भन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिश स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यसलाई थप सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको हो ।

स्मृति सभामा वडा ७ का अध्यक्ष बिमलकुमार होडाले पनि सम्वोधन गर्नुभएको थियो । त्यसैगरी त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले पनि सम्वोधन गर्नुभएको थियो ।

माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिनुभयो । शारिरीक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाले राजालाई समेत प्रजा परिषदको सदस्य बनाउनुभएको थियो ।

वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद गठन गरेका थिए । वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर धर्मभक्तलाई प्राणदण्ड दिइएको थियो । उहाँ बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो ।

३ पटकसम्म प्रयास गरेपछि मात्र उहाँलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उहाँ ३१ बर्षको मात्र हुनुहुन्थ्यो । वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।