गृहको उल्झनमा रास्वपा, मध्यरातसम्म छलफल गर्दा पनि अनिर्णित
काठमाडौं, २२ माघ । गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छाड्नेसम्मको चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको शनिवार मध्यरातसम्म बसेको बैठक अनिर्णित बनेको छ । गृहमन्त्रालयबारे निर्णय लिन यसअघि पनि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।
तर, बैठक अवधिमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय माग गरेको भन्दै सरकार छाड्ने अल्टिमेटम दुई दिनलाई पछि सारेको थियो ।
बैठकमा तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो भने उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गर्दै दुई दिन पर्खिने भएको थियो । तर, दुई दिनमा संयन्त्रको बैठक बसेन र माग पनि सम्वोधन भएनन् ।
बरु दुई दिनको समयसीमा शनिबार साँझदेखि सकिएको थियो । सरकारलाई दिएको समयसिमा सकिएसँगै रास्वपाले साँझदेखि नै बैठक सुरु गरेको थियो । शनिबार मध्यरातसम्म बसेको बैठक पनि अनिर्णित भएको छ ।
बिहीबारको बैठकपछि पार्टीका महासचिव मुकुल ढकालले गृहमन्त्रालयको जिम्मेवारी आफ्नो पार्टीलाई नदिए दुई दिनपछि बैठक बसेर सरकार छाड्न सक्ने निर्णय गर्ने जानकारी दिनुभएको थियो । उहाँले त्यतिबेला भन्नुभएको थियो । ‘हामी गृह पाउनुपर्छ भन्ने अडानबाट पछि हट्दैनौँ,’ उहाँले भन्नुभएको थियो, ‘गृह हाम्रो पार्टीलाई दिने निर्णयपछि हामी बैठक बसेर कस्लाई पठाउने हो निर्णय गर्छौ । उहाँहरुले राजनीतिक इमान्दारिता देखाउनु भएन भने बैठक बसेर बाहिरिन सक्छौँ ।’
तर, शनिबार मध्यरातको बैठकबाट पनि रास्वपाले सरकार छाड्ने कुनै निर्णय लिएन बरु आज बरु आज दिउँसो पुनः रास्वपाले बैठक बसेर महत्वपूर्ण निर्णय लिने भन्दै बैठक स्थगन गरेको छ । आजै संसद बैठक दिउँसो नै बस्ने भएकाले रास्वपाले बैठकमा उपस्थित नभएर भए पनि पार्टीको बैठक बस्ने तयारी गरेको छ ।
शनिबार मध्यरातको बैठकमा सरकार छाड्ने वा बस्ने भन्ने बारेमा कुनै पनि निर्णय नभएको सचेतक सन्तोष परियारले जानकारी दिनुभएको छ । प्राप्त जानकारी अुनसार बैठकमा सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा फरक–फरक कोणबाट धारणा आएपछि बैठक अनिािर्णत बनेको हो ।
प्रधानमन्त्री प्रचण्डले गृहको सट्टा रास्ववालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिन सभापति रवि लामिछानेलाई प्रस्ताव राखेको विषयमा पनि छलफल भएको बुझिएको छ ।
तर, नेताहरुले पनि त्यो विषयमा छलफल नै नभएको जानकारी गराएका छन् । एमाले अध्यक्ष ओली पहिलाको सम्झौता अनुसार रास्वपालाई गृह दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुनुहुन्न ।