मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय

नवलपरासी,२६ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको थियो ।

मध्यविन्दु नगरपालिका नवजागरण नमुना मावि र स्थानीय तहबाटै जग्गा व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरी परिषद्को आङ्गिक शिक्षालयको रुपमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भए बमोजिम जग्गा प्राप्ती लगायतको प्रक्रिया अगाडि बढेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिका ६ मा शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया बढाइएको छ ।

परिषद्ले यही माघ २० गते मध्यविन्दु नगरपालिकालाई बोधार्थ गरेर सिटिभिटी गण्डकी प्रदेशलाई पत्रचार गर्दै मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यकपर्ने विद्यार्थीको चाप, रोजागरीको अवसर, जग्गा, भवन, भौतिक पूर्वाधारको अवस्था र सम्भावित विषय पहिचान साथै शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन प्रतिनिधि खटाई स्पष्ट अध्ययन गरी प्रतिवेदन पेस गर्न भनेको छ ।

आगामी शैक्षिक सत्रदेखि नै शिक्षालयबाट अध्ययन सुुरुवात गराउने गरी बहुप्राविधिक शिक्षालयलाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो । “नवजगारण नमुना माविको मध्यविन्दु नगरपालिका ६ रहेको जग्गामध्ये पाँच बिघा जग्गा सिटिभिटीको आङ्गिक शिक्षालयको रुपमा स्थापना हुने नवजागरण बहुप्राविधिक शिक्षालयलाई भाडामा प्रदान गर्ने र प्राशासनिकलगायत थप आवश्यक पूर्वाधार निर्माणको लागि नगरपालिकामार्फत नै जग्गा खरिद गर्ने गरी काम भइरहेको छ” नगरप्रमुख अधिकारीले भन्नुभयो ।