टीकासँगै बजारमा पुग्यो जमरा

आज बिहान काठमाडौँका केही स्थानमा जमरा बिक्रीका लागि राखिएको देखियो। स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरमै उमारेको जमरा बिक्रीमा राखेका थिए। जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरूले खरिद गरिरहेको देखियो।

 काठमाडौँ, ४ कात्तिक ।  बडादसैँको मुख्य दिन अर्थात् विजयादशमीमा आज मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरिँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने चलन छ। जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले दसैँमा टीकासँगै फूलको सट्टा जमरा लगाउने प्रचलन रहँदै आएको छ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको थियो। तर धेरै नागरिकले बिहान दुर्गा विसर्जनपछि नै टीका लगाउन सुरु गरेका थिए।

भगवान पाउमा बिक्रीमा जमरा

आज बिहान काठमाडौँका केही स्थानमा जमरा बिक्रीका लागि राखिएको देखियो। स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरमै उमारेको जमरा बिक्रीमा राखेका थिए। जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरूले खरिद गरिरहेको देखियो।

परम्परागत रूपमा घटस्थापनाका दिन नै देवीको आह्वान गरी जलको घडासँगै जमरा राख्ने प्रचलन छ। जमरा पहेँलो र राम्रो हुने भएकाले घर वा निवासको घाम नपर्ने र चोखो कुनामा, पूजाकोठा वा पूजास्थलमा राखिन्छ। जमरा राखिएको स्थानलाई ‘जमराघर’ पनि भनिन्छ। यसरी राखिएको जमरा विजयादशमीका दिन टीकासँगै लगाइन्छ। नवदुर्गाको आह्वान गरी घटस्थापना गरिएको स्थानमा राखिएको जमरा कोजाग्रत पूर्णिमासम्म लगाउने चलन पनि छ।

तर कतिपयले जमरा राख्न नपाएका र डेरामा बस्ने मानिसका लागि स्थान अभाव हुन सक्ने भएकाले उनीहरूका लागि बिक्रीमा राखिएको जमरा उपयोगी देखिएको छ।

“छिमेकीले किनेको थाहा पाएपछि आएँ”

भगवान पाउमा जमरा किन्न पुगेका स्वयम्भूका रुपेश आचार्यले घरमा सुतक परेकाले घटस्थापनाका दिन जमरा राख्न नपाएकाले किन्न आएको बताए। “जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने मलाई थाहा थिएन, तर छिमेकीले पनि यसैगरी किनेर लगेको जानकारी दिएपछि म किन्न आएको हुँ,” उनले भने। आफूजस्तै अरू धेरैलाई सजिलो भएकाले बिहानै आएर जमरा किनेर लगेको देखेको उनले बताए।

सुरुमा जमरा पनि बिक्रीमा राखिएको देख्दा कतिपयलाई अनौठो लागे पनि केहीले यसलाई स्वाभाविक र सजिलो भनेका छन्। विविध कारणले अप्ठेरो परेका, घटस्थापनाका दिन जुठो वा सुतक परेर जमरा राख्न नपाएका तथा बासस्थानमा स्थान अभाव भएकाका लागि यसरी जमरा किनेर लगाउन पाउनु सजिलो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *