पहिलो विश्वयुद्धदेखि हुथी विद्रोहसम्म: साउदी-ब्रिटेन सैन्य सम्बन्धको ऐतिहासिक लेखाजोखा

लन्डन / रियाद ।  यमनका हुथी विद्रोहीहरूले साउदी अरबका तेल प्रशोधन केन्द्र तथा रियादस्थित मुख्य विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेपछि बेलायतले साउदी रक्षाका लागि आफ्ना अत्याधुनिक वायुसेना पठाउने घोषणा गरेको छ।

बेलायती रक्षा मन्त्रालयका अनुसार रोयल एयर फोर्स  का ‘टाइफुन’ फाइटर जेट साउदी अरबमा तैनाथ गरिनेछ। यी जेटहरूले केवल साउदीको रक्षात्मक भूमिका खेल्नेछन् र इरान समर्थित हुथी विद्रोहीहरूविरुद्ध प्रत्यक्ष आक्रमणमा सहभागी हुने छैनन्। यसका साथै बेलायतले  A400M ट्रान्सपोर्ट एयरक्राफ्ट, सैन्य सल्लाहकार र साउदी युद्धक विमानहरूका लागि हावामै इन्धन भर्ने सुविधा पनि उपलब्ध गराउनेछ।

बेलायत र साउदी अरबबीचको यो सैन्य सहकार्य कुनै नयाँ घटना भने होइन। साउदी अरब एउटा स्वतन्त्र राष्ट्रका रूपमा स्थापना हुनुभन्दा अघि, अर्थात् पहिलो विश्वयुद्धको समयदेखि सुरु भएको यो सैन्य सम्बन्ध १०० वर्षभन्दा पुरानो छ।

पहिलो विश्वयुद्ध र सम्बन्धको सुरुवात (१९१५–१९३२)

सन् १९१५ को डिसेम्बरमा खाडी क्षेत्रका वरिष्ठ बेलायती अधिकारी सर पर्सी कक्स र नज्दका शासक इब्न साउद (पछि साउदीका संस्थापक राजा अब्दुलअजिज) बीच ‘दारिन सन्धि’ भएको थियो।

अटोमन साम्राज्यविरुद्ध बेलायतलाई सघाउने शर्तमा बेलायतले साउदी शासकलाई नगद र हतियार सहयोग उपलब्ध गराएको थियो। पछि सन् १९२७ मा जेद्दा सन्धि भयो र अन्ततः सन् १९३२ मा ‘साउदी अरब अधिराज्य’ को स्थापना भयो।

१९६० को दशक र यमन संकट

साउदी र बेलायतबीच हतियार खरिद-बिक्रीको औपचारिक सुरुवात सन् १९६६ मा भयो। साउदी अरबले बेलायतसँग ४० वटा ‘लाइटनिङ’ फाइटर जेट र राडार प्रणाली खरिद गर्यो।

त्यतिबेला पनि यमन गृहयुद्धको केन्द्रमा थियो। यमनका राजालाई पुनर्वहाली गर्न साउदीले सहयोग गरिरहेको थियो भने इजिप्ट र सोभियत संघ समर्थित विद्रोहीहरूसँग बेलायत आफैँ पनि अडेन (दक्षिणी यमन) मा लडिरहेको थियो। यमन युद्ध चर्किँदा साउदी अरबको सुरक्षाका लागि बेलायतले आफ्ना पाइलट र लडाकु विमानहरू पठाई सहयोग गरेको इतिहास छ।

अल-यामामा सम्झौता: इतिहासकै सबैभन्दा ठूलो हतियार सम्झौता

सन् १९८५ मा दुई देशबीच ‘अल-यामामा’  नामक ऐतिहासिक तेलको बदले हतियार सम्झौता भयो। यो बेलायती इतिहासकै सबैभन्दा ठूलो निर्यात सम्झौता मानिन्छ।

साउदी अरबले बेलायतबाट ‘टोर्नाडो’ र ‘हक’  जेटहरू खरिद गर्नका लागि प्रतिदिन ६ लाख ब्यारेलसम्म कच्चा तेल बेलायतलाई उपलब्ध गराएको थियो। यद्यपि, सन् २००४ मा यो सम्झौतामा ठूलो भ्रष्टाचार भएको आरोपमा बेलायतको सिरियस फ्रड अफिस  ले छानबिन सुरु गरे पनि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २००६ मा मुद्दा फिर्ता लिइएको थियो।

खाडी युद्ध र साउदी भूमिमा बेलायती फौज

सन् १९९० मा इराकले कुवेतमाथि आक्रमण गरेपछि साउदी राजा फहदको आह्वानमा बेलायती वायुसेनाका टोर्नाडो लडाकु विमानहरू साउदी अरबको धहरान र तबुकस्थित सैन्य base हरूमा तैनाथ गरिएका थिए। सन् १९९१ को खाडी युद्धका क्रममा बेलायती विमानहरूले साउदी भूमिकै प्रयोग गरेर उडान भरेका थिए भने सन् २००३ सम्म दक्षिणी इराकमाथि ‘नो-फ्लाई जोन’ पहरा दिन साउदी बेसहरू प्रयोग गरेका थिए।

टाइफुन जेट र पछिल्ला विवादहरू

  • टाइफुन सम्झौता: सन् २००७ मा साउदीले बेलायतबाट ४.४३ अर्ब पाउण्डमा ७२ वटा ‘टाइफुन’ जेट खरिद गर्यो। सन् २०१८ मा थप ४८ वटा टाइफुन किन्ने प्रतिबद्धता जनाइए पनि साउदी पत्रकार जमाल खसोग्गीको हत्यापछि जर्मनीले हतियार बिक्रीमा प्रतिबन्ध  लगाएका कारण यो रोकिएको थियो। तर, सन् २०२४ को जनवरीमा जर्मनीले आफ्नो अडान फिर्ता लिएपछि यो प्रक्रिया पुनः अघि बढेको छ।

  • यमन युद्ध र कानुनी उल्झन: यमनमा सन् २०१४ मा हुथीहरूले कब्जा जमाएपछि सुरु भएको गृहयुद्धमा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गर्यो। सन् २०१९ मा बेलायती अदालतले साउदीलाई हतियार बेच्ने सरकारी निर्णयलाई गैरकानुनी ठहर गर्दै रोकेको थियो। तर, सन् २०२० मा बेलायत सरकारले मानवअधिकार उल्लंघनको प्रत्यक्ष जोखिम नरहेको भन्दै पुनः हतियार बिक्री खुला गर्यो।

सन् २०२४ मा गाजा युद्ध सुरु भएयता हुथीहरूले लाल सागरमा जहाजहरूमाथि आक्रमण गर्दा बेलायत र अमेरिकाले यमनभित्रै हुथीका ठेगानाहरूमा हवाइ हमला गरेका थिए।

अहिले यमनको गृहयुद्ध पुनः चर्किएको र साउदी अरबका भौतिक संरचनाहरूमाथि हुथीको ड्रोन र क्षेप्यास्त्र प्रहार बढेको अवस्थामा, बेलायतले साउदी रक्षाका लागि आफ्ना अत्याधुनिक टाइफुन जेटहरू पठाएर १०० वर्षभन्दा पुरानो आफ्नो रणनीतिक र सैन्य सम्बन्धलाई पुन: निरन्तरता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *