बागलुङमा स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
बागलुङ, २७ माघ । बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या हुन थालेकाे छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै भएकाेले सेवा प्रवाहमा समस्या हुन थालेकाे हाे ।
विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको छ । पटक–पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताउनुभयो ।
निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको छ । कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको बस्ताकोटीले बताउनुभयो ।
भवनको लागत रु एक करोड ७० लाख ४८ हजार रहेको छ । स्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो पोख्नुभयो । एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्नेलगायत काम गरिँदै आएको छ ।